चार महिनापछि वुहानका बालबालिका गए विद्यालय, सुरु भयो पढाई

बुधबार, २४ बैशाख २०७७, १५ : ०६
चार महिनापछि वुहानका बालबालिका गए विद्यालय, सुरु भयो पढाई

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहान शहरका बालबालिका चार महिनापछि बुधबारदेखि विद्यालय गएका छन् । कोरोना संक्रमित देखिन छाडेपछि बुधबारदेखि वुहानमा पढाई सुरु भएको छ ।

वुहान शहरमा महामारी नियन्त्रणमा आएपछि जनजीवन सामान्य बन्दै गएको छ । सोही क्रममा बुधबारदेखि वुहानका विद्यालयहरु खुलेका हुन् । गएको डिसेम्बरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जनवरीदेखि त्यहाँ स्कूलहरु बन्द थिए । 

वुहानका झण्डै ५७ हजार विद्यार्थी स्कूल फर्किएको चीनको सरकारी समाचार संस्थाले जनाएको छ । वुहानका १२१ विद्यालयहरु खुलेका छन् ।

चार महिनापछि विद्यालय जान पाउँदा विद्यार्थी खुशी भएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कक्षा कोठामा ३० जना भन्दा बढी विद्यार्थी नराख्ने र डेढ मिटरको दूरी कायम गर्ने गरी डेस्कको व्यवस्था गरेर विद्यालय खुलाइएको हो ।

प्रतिक्रिया दिनुहोस