बन्द बजारबाट कालोबजारी गर्दै चितवनका फलफूल व्यवसायी

४ व्यवसायीलाई ७० हजार जरिबाना

प्रकाश सिग्देल

सोमबार, २२ बैशाख २०७७, १६ : ०९
बन्द बजारबाट कालोबजारी गर्दै चितवनका फलफूल व्यवसायी

– प्रकाश सिग्देल

चितवन । चितवनका ४ फलफूल सप्लायर्सलाई जिल्ला प्रशासन कार्यालय चितवनले ७० हजार धरौटी लिएर तारेखमा राखेको छ ।  

यसअघि भएको बजार अनुगमनका क्रममा फलफूलको मूल्यमा कालोबजारी गरेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सन्तोसकुमार शाहले सञ्चालन गरेको सुभम टे«डर्स, विष्णु कार्कीले सञ्चालन गरेको हिमालय फुड्स, टीकाराम आचार्यले सञ्चालन गरेको आचार्य सप्लायर्स र सोमबहादुर बजुले सञ्चालन गरेको काठमाडौँ फुड्सलाई बजार अनुगमन प्रतिवेदनको माध्यमबाट अनुसन्धान अगाडि बढाएको हो ।  

उनीहरुले फलफूल सस्तोमा खरिद गरी महँगोमा बिक्री गरेको र खरिद तथा बिक्री बिल चुस्त दुरुस्त राख्न नसकेको र फलफुलमा कालोबजारी गरेको भेटिएपछि उनीहरुलाई घरौटी बुझाए  तारिकमा छाड्ने निर्णय भएको प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी ईश्वर सिम्खडाले बताउनुभयो । 

अनुगमनका क्रममा व्यवसायीले स्याउ प्रतिकेजी ४५० देखि ५०० रुपैयाँसम्मका बिक्री गरेको भेटिएको थियो । उनीहरुमध्य  सुभम ट्रेडसका सन्तोषकुमार शाह र  हिमालय फुड्सका विष्णु कार्कीलाई १०\१० हजार धरौटी र तारिक  तोकिएको र आचार्य सप्लायर्सका टीकाराम आचार्य र  काठमाडौँ फुड्सका सोमबहादुर बजुलाई २५\२५ हजार धरौटी र तारिक तोकिएको सुचना अधिकारी शिम्खडा बताउनुहुन्छ ।  उनीहरुले धरौटी रकम जम्मा नगरे उनीहरुलाई कारागार चलान गरिने शिम्खडाको भनाइ छ । 

उनीहरुका बिषयमा थप अनुसन्धान भइरहेको र उनीहरुको पसलबाट फलफूल खरिद गरी बिक्री गर्ने रिटेलरहरुसंग पनि आवश्यक अनुसन्धान गर्ने कार्यक्रम भइराखेकोको आवश्यक अनुसन्धान पूरा गरेपछि मुद्दको किनारा लाग्ने शिम्खडाको भनाई छ । 

आफूहरुले ठूला ब्यवसायीलाई केन्द्रित गरी बजारमा अनुगमन तथा कारबाही गर्न थालेपछि अहिले बजारमा बिगत एक हप्ता अगाडिको मूल्यभन्दा आधा कम मूल्यमा फलफूलको कारोबार भएको पाइएको प्रशासन कार्यालयले जनाएको छ । 
आइतबार प्रशासकीय अधिकृत कमल आचार्य र मुद्दा शाखाका खरीदार आदर्श अधिकारीको टोलीले गरेको अनुगमनमा फलफूलको मूल्य आधा घटेको पाइएको शिम्खडाको भनाइ छ । अघिल्लो अनुगमनमा ५०० मा बिक्री भएको स्याउ पछिल्लो अनुगमनमा ३५० मा बिक्री भएको र प्रतिकेजी २०० मा बिक्री भएको सुन्तला १००मा बिक्री भएको र ८० रुपैयाँमा बिक्री भएको खरभुजा ४० मा बिक्री भएको भेटिएको थियो । 

अनुसन्धानका क्रममा क्षेत्रपुरको तरकारी बजारमा व्यवसाय गर्ने ठूला ब्यापारीले फलफूलको मूल्य आफू खुसी राखेको र खरिद बिल समेत देखाउन नसकेको पाइएको हो ।

तरकारी बजार बन्द रहेपनि ब्यवसायीहरुले प्रधान कोल्ड स्टोरमा भण्डारण गरी राखेको फलफूल दिनैपिच्छे महँगो मूल्य लगाउँदै साना ब्यवसायीलाई बिक्री गर्ने गरेको ठेलामा ब्यवसाय गर्ने ब्यवसायीको गुनासो छ ।  

आफूहरुले हरेक दिनजसो सुष्म अनुगमन गरिरहेको र यस्तो जटिल अवस्थामा कालोबजारी गरेको भेटिएका जस्तो सुकै शक्ति भए पनि त्यसलाई कालोबजारी ऐन अन्त्रगत कारबाही गरी छाड्ने जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकार नेत्रप्रसाद शर्माले बताए । बजारमा व्यवसाय गर्ने सबै खाले ब्यवसायीलाई इमान्दारीपूर्वक व्यवसाय गर्न शर्माको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस