'संकटमा कालोबजारी गर्नु राष्ट्रघात'

बुधबार, १७ बैशाख २०७७, ०८ : २७
'संकटमा कालोबजारी गर्नु राष्ट्रघात'

काठमाडौं । संकटका बेला कालोबजारी गर्नेहरूलाई राजनीतिक दबाबमा नपरी कानुनअनुसार हदैसम्मको सजाय दिन राजनीतिक दलका नेताहरूले माग गरेका छन् । उनीहरूले संकटका बेला सहयोग गर्नुपर्ने व्यापारीहरू मौका छोपेर कालोबजारीमा संलग्न हुन लाजमर्दो विषय भएको बताएका हुन् ।

स्वास्थ्य सामग्री थर्मल गनको कालोबजारी गर्दैगर्दा रंगेहात पक्राउ परेका व्यापारी सुलभ अग्रवाललाई छुटाउन केही प्रभावशाली शक्ति केन्द्र सक्रिय भएको सन्दर्भमा युवा नेताहरूको धारणा आएको हो । सत्तारूढ दल नेकपाका नेतृ रामकुमारी झाक्रीले संकटका बेला मौका छोपेर कालोबजारी गर्नेमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कालोबजारी गर्ने ठगी गर्ने, देश संकटमा परेका बेला लुट्न खोज्ने व्यक्तिलाई हदैसम्मको कारबाही गर्नुपर्छ ।’
नेतृ झाक्रीले कालोबजारी गरेर पक्राउ परेका व्यक्तिहरूलाई कुनै पनि हालतमा राजनीति दबाब दिएर छुटाउन नहुने बताउनुभयो । बदमासी गर्ने, ठगी गर्ने जो–सुकै भए पनि कठोरताको साथ कानुनी कारबाही गर्नुपर्छ ।’ –उहाँले भन्नुभयो ।

जगदम्बा गु्रपका सञ्चालक अग्रवाल प्रहरीको स्टिङ अपरेसनमा पक्राउ परेका थिए । हाल उनीमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरी चार प्रकारका मुद्दा चलाउन सिफारिस गरेको छ । जगदम्बा स्टिल बनाउने शंकर ग्रुुपका पूर्वअध्यक्ष शंकर अग्रवालले सुुलभ अग्रवाल पक्राउ पर्नु दुःखद भएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘घटना दुःखद हो, म पूर्वअध्यक्ष भएकाले प्रतिक्रिया दिने मुडमा छैन ।’

नेकपाका युवा नेता लेखनाथ न्यौपानेले संकटको घडीमा पनि कालोबजारी गर्नु व्यापारीमा नैतिकता सकिएको परिणाम भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मानिसलाई नैतिकता र कानुनले बाँध्ने गर्छ, ठूला भनिएका व्यापारीहरूमा नै सबैभन्दा बढी नैतिक पतन भएको देखियो ।’

नेता न्यौपानेले गलत काम गर्नेमाथि सरकारले निर्ममतापूर्व उत्रिन नसक्दासम्म यस्ता समस्या पुनः दाहोरिने बताउनुभयो– ‘नियत नै गलत भए पनि संकटको बेला लुट्न तम्सिन्छन्, अहिले सुलभ अग्रवाल पक्राउ प्रकरण एउटा उदाहरण मात्र हो ।’ राजनीतिक दलका युवा नेताहरूले सुलभ अग्रवाललाई कुनै पनि हालतमा राजनीतिक दबाब दिएर मुद्दा कमजोर बनाउने काम नगर्न सरकारलाई दबाब दिएका छन् ।

नेपाली कांगेसका प्रवक्ता विश्वप्रकाश शर्माले संकटको घडीमा गलत काम गर्नेमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताउनुभयो– ‘देश संकटबाट गुज्रिरहेको छ, यस्तो बेला सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बेला उल्टै कालोबजारी गर्ने, यस्ता व्यक्तिहरूमाथि हदैसम्म कारबाही गर्नुपर्छ ।’ उहाँले व्यापारीहरूले कम्तीमा यस्तो संवदनशील घडीमा नैतिकता देखाउन पनि आग्रह गर्नुभयो । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस