प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादको भाइरस संक्रमण : राप्रपा अध्यक्ष राणा

विहीबार, ११ बैशाख २०७७, १६ : २७
प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादको भाइरस संक्रमण : राप्रपा अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादको भाइरस संक्रमण भएको बताएका छन् ।

गलत बाटोबाट अध्यादेश ल्याएर संवैधानिक परिषदमा एकलौटी गर्ने प्रधानमन्त्रीको चरम महत्वाकांक्षा संविधानको मर्म र संवैधानिक नियन्त्रण, सन्तुलन विपरीत रहेको राणाको ठहर छ । संवैधानिक अंगहरूलाई भर्तीकेन्द्र बनाउन खोजिएको भन्दै उनले आपत्ति पनि जनाएका छन् ।

‘प्रधानमन्त्री केपी ओली सर्वसत्तावादको भाइरसको संक्रमणमा पर्नु भएको छ । शक्ति केन्द्रीकृत गर्दै प्रजातान्त्रिक नियन्त्रण र सन्तुलन बर्खिलाप संवैधानिक परिषदमा एकलौटी गर्ने बदनियतमा कुबाटोबाट अध्यादेश ल्याइएको छ । संवैधानिक अंगहरूलाई भर्तीकेन्द्र बनाउने अभिष्ट बिल्कुलै निन्दनीय छ,’ अध्यक्ष राणाले बिहीबार भने ।

कोभिड–१९ संक्रमण तेस्रो चरणमा प्रवेश गरीसक्दा पनि सरकार र सत्तारुढ दल चरम सत्तालिप्सा, सरकार र पार्टीगत शक्तिसंघर्षमा रुमल्लिनु उचित नभएको भन्दै उनले चिन्ता प्रकट गरेका छन् ।

‘समुदायमा एकै दिन १२, अर्को दिन ११ जना संक्रमित देखिएको छ । काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर भनेझैं राष्ट्रमाथिको भार, निमुखा जनताको दुखकष्ट चटक्कै बिर्सिएर प्रधानमन्त्री नीजि महत्वाकांक्षा पूरा गर्न लाग्नुभएको छ,’ राणाले भने, ‘महामारीबीच सत्तालिप्सा, सरकार र पार्टीको शक्तिसंघर्षमा रमाउनु अनपयुक्त छ ।’

बन्दाबन्दीको समयमा किसानहरू फसल उठाउन र बेच्न नपाएर ठूलो मारमा परेकोले राणाले यथाशिघ्र समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘किसानले फसल उठाएर लाभ लिने बेलामा महामारी फैलिएको छ । बन्दाबन्दीमा बाली उपभोक्तासम्म पुर्याउन संभव छैन । उत्पादन त्यसै बिग्रीएर खेर जाने अवस्था छ । तथापि भारतबाट तरकारी नियमित भित्रिएको छ,’ उनले ट्वीट गर्दै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस