अमेरिकाको न्यूयोर्कमा एकै दिन ७ सय ७९ जनाको मृत्य, विश्वभर मृत्यु हुनेको संख्या ८८ हजार ५ सय

विहीबार, २७ चैत्र २०७६, ०९ : ४८
अमेरिकाको न्यूयोर्कमा एकै दिन ७ सय ७९ जनाको मृत्य, विश्वभर मृत्यु हुनेको संख्या ८८ हजार ५ सय

एजेन्सी । विश्वव्यापी रुपमा नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण र मृत्यु अमेरिकामा दिन प्रति दिन बढ्दो क्रममा रहेको छ । महामारीको इपिसेन्टरको रुपमा रहदैै आएको  न्यूयोर्कमा  कोरोना भाइरसबाट संक्रमति भएर मृत्यु हुनेको संख्या लगातार नयाँ उचाईमा पुगिरहेको छ । बुधबार एकै दिन ७ सय ७९ जनाको मृत्यु भएको छ ।

महामारी फैलिए यता न्यूयोर्कमा भाइरसका कारण एकै दिन संक्रमितको मृत्यु भएको यो अहिलेसम्मकै उच्च हो । मंगलबार न्यूयोर्कमा ७ सय ३१ जनाको मृत्यु भएको थियो । यस्तै न्यू जर्सीमा पनि बुधबार अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको छ ।

न्यू जर्सीमा बुधबार २ सय ७५ जनाको मृत्यु भएको छ । मंगलबार राज्यमा २ सय ३२ जनाको मृत्यु भएको थियो । दुई राज्यमा गरेर अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु भएका कुल मानिस मध्ये आधा भन्दा बढी छन् । न्यूयोर्क र न्यू जर्सीमा गरेर ७ हजार ७ सय ७२ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा ६ हजार २ सय ६८ तथा न्यू जर्सीमा १ हजार ५ सय ४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट १४ हजार ७ सय ६६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कुल संक्रमितको संख्या अमेरिकामा ४ लाख ३० हजार ९ सय २ पुगेको छ । न्यूयोर्कमा संक्रमितको संख्या एक लाख ५१ हजार १ सय ७१ रहेको छ । न्यू जर्सीमा संक्रमितको संख्या ४७ हजार ४ सय ३७ पुगेको छ ।

विश्वभर कुल संक्रमितको संख्या १५ लाख १३ हजार भन्दा बढी रहेको छ । यस्तै मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ । अहिलेसम्म ३ लाख २९ हजार ७ सय ३१ जना निको भएका छन् । स्पेनमा बुधबार मात्रै ७ सय ४७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ । यस्तै इटालीमा बुधबार ५ सय ४२ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १७ हजार ६ सय ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस