कोरोनाको असर :  व्यावसायिक करमा ५० प्रतिशत छुट

सफल खबर संवाददाता

शनिबार, ०८ चैत्र २०७६, १८ : ३०
कोरोनाको असर :  व्यावसायिक करमा ५० प्रतिशत छुट

file photo

दमौली । कोराना भाइरस (कोभिड–१९) को जोखिमको असर व्यवसायमा परेपछि तनहुँको बन्दीपुर गाउँपालिकाले व्यवसायिक करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । व्यापार व्यवसाय ठप्प भएपछि गाउँपालिकाले चालु आर्थिक वर्ष ०७६÷७७ का लागि सो छुट दिने निर्णय गरेको हो ।

गाउँपालिकाले गरेको सो निर्णयको यहाँका व्यवसायीले खुशी व्यक्त गरेका छन् । गाउँपालिकाको निर्णय स्वागतयोग्य रहेको तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुरका अध्यक्ष वैश गुरुङले बताउनुभयो । “व्यवसायीको पीर मर्का बुझेर गाउँपालिकाले गरेको निर्णयले व्यवसायीलाई राहत पुग्नेछ,” उहाँले भन्नुभयो । बन्दीपुर यतिबेला पर्यटकीय चहलपहल हुने मौसम रहे पनि सो भाइरसको कारण पर्यटक नआएपछि बन्दीपुरको पर्यटन व्यवसाय प्रभावित बनेको अध्यक्ष गुरुङले बताउनुभयो ।

व्यापार व्यवसाय नहुँदा व्यवसायीलाई कर लगायतका ऋण तिर्न पनि समस्या हुने अवस्था आइपरेको बन्दीपुर पर्यटन विकास समितिका सचिव एवं होटल व्यवसायी वसन्त पौडेलले जानकारी दिनुभयो । “ऋण गरेर व्यवसाय शुरु गर्ने व्यवसायीलाई कोभिड–१९ का कारण ब्याज तिर्न पनि मुस्किल हुने अवस्था आइपरेको छ,” उहाँले भन्नुभयो, “गाउँपालिकाले व्यावसायिक करमा छुट गर्ने निर्णयले केही भए पनि राहत दिनेछ ।”

व्यवसायीलाई हतोत्साही हुन नदिन व्यावसायिक करमा छुट दिने निर्णय गरिएको बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले वित्तीय सङ्घसंस्थालाई ब्याजदर कम गर्न तथा घरधनीहरुलाई घरभाडा शुल्कमा सहुलियत दिनसमेत अनुरोध गरेको उहाँले बताउनुभयो । 

बन्दीपुरमा पर्यटन गतिविधि ठप्प
सो भाइरसले पर्यटकीय नगरी बन्दीपुर प्रभावित बनाएको छ । विदेशी र स्वदेशी पर्यटकको बाक्लो उपस्थिति रहने बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल ठप्प छ । यहाँ अहिले दैनिक एक सय पर्यटक छन् । यो मौसममा पाँच सयभन्दा बढी पर्यटक बन्दीपुरमा भित्रिएको हुनुपर्दथ्यो । “कोभिड–१९ को प्रभावले सत्तरी प्रतिशत पर्यटक घटेका छन्”, सचिव पौडेलले भन्नुभयो, “विदेशी पर्यटक त फाट्फुट मात्रै देखिन्छन् ।”

बन्दीपुरमा अमेरिका, थाइल्यान्ड, भारत, कोरिया र युरोपियन मुलुकका धेरै पर्यटक आउने गरेका थिए । गत वर्ष एक लाख २० हजार पर्यटकले त्यहाको भ्रमण गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० मा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । यद्यपि नेपाल भ्रमण वर्ष २०२० सरकारले स्थगित गरिसकेको छ । 

हिमालय दरबार होटलका सञ्चालक वैश गुरुङले कोरोना भाइरसको प्रभावका कारण होटल व्यवसायी मारमा परेको बताउनुभयो । “पर्यटक छैनन्, व्यवसाय सञ्चालनमा समस्या भएको छ”, उहाँले भन्नुभयो । बन्दीपुरमा होटलमा मात्रै नभई घरबासमा पनि पर्यटक घटेको व्यवसायी बताउँछन् । घरबास सञ्चालक राजु बानियाँले कोरोना भाइरसको प्रभावका कारण पर्यटक नआउँदा बन्दीपुर सुनसान जस्तै बनेको जानकारी दिनुभयो । 

बन्दीपुरमा ९-१० वटा होटल निर्माणाधीन अवस्थामा रहेका छन् । बन्दीपुरमा हाल हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँ घर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिजेललगायत सानाठूला गरी ५७ होटल तथा २२ वटा घरबास ‘होमस्टे’ सञ्चालनमा छ । ती सबै होटलमा एकै पटक एक हजार तीन सयदेखि एक हजार चार सय पर्यटकले रात बिताउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस