कोरोना भाइरसमुक्त चितवन : सुनसान छ भरतपुर अस्पतालको आइसोलेसन वार्ड

सूर्यप्रकाश कँडेल

आइतबार, ११ फागुन २०७६, १५ : ५९
कोरोना भाइरसमुक्त चितवन : सुनसान छ भरतपुर अस्पतालको आइसोलेसन वार्ड

तस्विर : सूर्यप्रकाश कँडेल

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) को ठ्याक्कै अगाडि, प्रसूति वार्डदेखि पश्चिममा दाहिनेतर्फ च्यानल गेटभित्र पाँच वटा बेड छन् । च्यानल गेटको माथि सेतो बोर्डमा रातो अक्षरले अंग्रेजीमा लेखिएको छ, २०१९-एनसीओभी आइसोलेसन वार्ड । यो वार्डमा न त बिरामी छन्, न त डाक्टर नै । यो वार्ड रित्तो हुँदा अस्पतालका चिकित्सकहरुमात्र नभई सिंगो चितवनवासी, अझ भनौँ सिंगै देशवासी खुसी छन् ।

चीनमा महामारीको रुप लिएको कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित बिरामीलाई राख्न भरतपुर अस्पतालले तीन साताअघि बनाएको आइसोलेसन वार्ड खाली हुनुको अर्थ चितवन कोरोना भाइरसमुक्त छ भन्ने नै हुन्छ । कोरोना भाइरस कोभिड-१९ शरीरमा पसेर रोगको लक्षण देखाउन १० देखि १४ दिन लाग्छ । रुघा, खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या नै यसको मुख्य लक्षण हो ।

छिमेकी देश चीनको वुहान शहरमा पहिलोपटक गत डिसेम्बरमा देखा परेको कोरोना भाइरस कोभिड-१९ नेपालका चिकित्सकहरुका लागि पनि टाउको दुखाईको विषय भएको थियो । नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति एक जना काठमाडौँमा देखिएपनि उनलाई उपचारपछि सञ्चो भइसकेको छ । काठमाडौँपछि उच्च जोखिममा मानिएको चितवनमा कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित व्यक्ति कोही पनि नपाइएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल बताउँछन् ।

भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये कसैलाई पनि कोरोना भाइरसको संक्रमण नदेखिएको जानकारी दिँदै पौडेलले भने, "चीनबाट तीन महिनाअघि चितवन फर्किएका एक जना व्यक्तिलाई रुघा, खोकीसँगै ज्वरो पनि आएकोले शंका मानी उनको घाँटीबाट स्वाब निकालेर परीक्षणका लागि काठमाडौँ पठाइएको थियो, तर नतिजा नेगेटिभ देखियो । चितवनमा आजको दिनसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएको छैन ।"

नेपाल चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा. प्रकाश खतिवडा चितवनमा कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने बिरामी अहिलेसम्म देखा नपरेकोले आत्तिनु नपर्ने बताउँछन् । उनले कुनै पनि बेला त्यस्ता बिरामी देखा पर्न सक्ने सम्भावना भएकोले शंकास्पद बिरामीको परीक्षण र उपचारका लागि भरतपुर अस्पतालमा पाँच बेडको आइसोलेसन वार्ड निर्माण गरिएको र त्यहाँ अहिलेसम्म कसैलाई राख्न नपरेको जानकारी दिए । 

भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारी कोरोना भाइरसले रुघा, खोकी, ज्वरो र निमोनिया गराउने जानकारी दिँदै भन्छन्, "कोरोना भाइरस कोभिड-१९बाट संक्रमित व्यक्तिमा जटिलता थपिएमा मिर्गौला र कलेजोमा असर पुग्छ । शरीरका भित्री अंगहरुले काम नगरी बिरामीको मृत्यु समेत हुन्छ । खुसीको कुरा, चितवनमा अहिलेसम्म कोरोना भाइरस संक्रमित कोही पनि भेटिएको छैन ।"

डा. अधिकारीका अनुसार विश्वमा दुई सय ९१ थरी भाइरस छन् । तीमध्येको एक कोरोना भाइरस सबैभन्दा पहिले सन् १९६० मा पत्ता लागेको हो । डा. अधिकारी कोरोना भाइरसको सातौँ रुप कोरोना भाइरस कोभिड-१९ भएको बताउँछन् । चीनको वुहान शहरका कामदारमा गत डिसेम्बरको अन्तिम सातामा पहिलोपटक कोभिड-१९को संक्रमण देखा परेको थियो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारी नेपाल भौगोलिक रुपमा चीनसँग जोडिएको हुनाले सचेत रहन आवश्यक रहेकोले भरतपुर अस्पतालमा पाँच बेडको आइसोलेसन वार्ड निर्माण गरी सतर्कता अपनाइएको बताउँछन् । उनले कोरोना भाइरसबाट बच्न हातको सरसफाईमा बढी ध्यान दिनु पर्ने बताए । 

भरतपुर अस्पतालले निर्माण गरेको आइसोलेसन वार्डका स्रोतव्यक्ति फिजिसियन डा. कल्याण सापकोटाले आइसोलेसन वार्ड खाली हुनु खुसीको कुरा भएको प्रतिक्रिया दिए । उनले चितवनमा यदि कसैलाई कोरोना भाइरस कोभिड-१९को संक्रमण भएको शंका लागेमा र लक्षणहरु मिल्न गएमा आइसोलेसन वार्डमा १४ दिनसम्म राखेर थप अनुसन्धान गरिने बताए ।

रोकिएन कोरोनाको कहर

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस कोभिड-१९को कहर दुई महिनाभित्रै विश्वव्यापी बन्न पुगेको छ । कोरोनाबाट नेपाल अछुतो रहे पनि छिमेकी मुलुक चीनमा यसले विध्वंश मच्चाएको छ । कोरोना भाइरस कोभिड-१९बाट चीनमा शनिबारसम्म दुई हजार चार सय ६२ जनाको मृत्यु भइसकेको छ । चीनबाहिर चार सय ३३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस कोभिड-१९ संक्रमित बिरामी चीनमा ७८ हजार सात सय ७३ जना छन् । अहिले पनि नयाँ संक्रमितको संख्या चीनमा चार सय हाराहारी पुगेको छ । पछिल्लो समय कोरोना भाइरस कोभिड(१९बाट इरानमा ६ जना, दक्षिण कोरियामा चार जना र इटालीमा दुई जनाको मृत्यु भएको छ । सुरुमा नोबेल कोरोना भाइरस भनिएपनि विश्व स्वास्थ्य संगठनले दुई साताअघि मात्र कोरोना भाइरसको पछिल्लो परिवर्तित स्वरुपलाई कोभिड-१९ नाम राखेको छ ।