चलचित्र ‘सेन्टी भाइरस’ को सुरुवाती व्यवसाय राम्रो

आइतबार, ११ फागुन २०७६, १५ : ००
चलचित्र ‘सेन्टी भाइरस’ को सुरुवाती व्यवसाय राम्रो

काठमाडौं । चलचित्र ‘सेन्टी भाइरस’ले सुरुवाती व्यवसाय राम्रो गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले शुक्रबार र शनिबार राम्रो व्यवसाय गरेको निर्माण युनिटले जनाएको छ ।

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले पहिलोपटक निर्माण गरेको फिल्मको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा खर्चिने घोषणा समेत भएको छ । यो घोषणाका कारण पनि फिल्मले हलमा दर्शक पाएको हो । 

शुक्रबार र शनिबार फिल्मले मल्टिप्लेक्स र सिंगल थिएटर दुवै स्टेशनमा राम्रो दर्शक पाएको छ । शुक्रबारको तुलनामा शनिबार फिल्ममा अझै बढी दर्शक देखिएका छन् । फिल्मका कलाकार समेत रहेका निर्माता ‘धुर्मुस सुन्तली’ समेत शनिबार र शुक्रबार राजधानीका गोपीकृष्ण, अष्टनारायणलगायतका केही चलचित्र घरमा दर्शकको प्रतिक्रिया बुझ्न पुगेका थिए । सो अवसरमा उनीहरुसँग सेल्फी खिच्न र हात मिलाउन दर्शकको ठूलो भीड लागेको थियो । कतिपय दर्शकले त ‘सेन्टी भाइरस’को नारा समेत लगाएका थिए । उक्त अवसरमा कलाकार सितारामले दर्शकले फिल्म हेरेर रंगशाला निर्माणमा सहयोग गरेको भन्दै दर्शक प्रति आभार ब्यक्त गरे । अभिनेत्री समेत रहेकी सुन्तलीले भने फिल्म माफर्त दर्शकले रंगशालामा अपनत्व जनाएको बताइन् । 

राजधानीको अलवा मोफसलका प्रमुख स्टेशनहरु पोखरा, बुटवल, विर्तामोड, इटहरी, दमक र चितवन लगायतमा समेत शुक्रबार र शनिबार फिल्मले राम्रो दर्शक पाएको बितरकले जनाएका छन् ।

‘सेन्टी भाइरस’ रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा‘धुर्मुस सुन्तली’का अलावा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, कमलमणी नेपाल लगायतका कलाकारको समेत अभिनय छ । डिन्डु लामा ह्योल्मोले निर्माण गरेको फिल्म कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । फिल्ममा शंकर थापा स्माइल, राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाले संगीत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस