महाशिवरात्रिमा शाश्वतधाममा भक्तजनहरुको घुइँचो

शुक्रबार, ०९ फागुन २०७६, १४ : ००
महाशिवरात्रिमा शाश्वतधाममा भक्तजनहरुको घुइँचो

नवलपरासी । पूर्वीनवलपरासीको शाश्वतधाममा आज महाशिवरात्रि पर्वका दिनमा भक्तजनहरुको बिहादैदेखि घुइँचो लागेको छ । महाशिवरात्रिका अवसरमा धाम परिसरमा रहेको एकाम्बरेश्वर मन्दिर, १०८ शिवलिंगमा जल चढाउने र पुजाअर्चना गर्ने भक्तजनहरुको घुइँचो लागेको हो ।  

मन्दिर व्यवस्थापन समितिले भक्तजनहरुको सुविधाको लागि प्रवेशद्वारमै बेलपत्र, फूलप्रसादको व्यवस्था गरेको थियो । शाश्वतधाममा आगन्तुकहरुलाई पञ्चे बाजागाजा, बुद्ध धर्माबलम्बीहरुको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । शिवलिंगमा बेलपत्र, दूध, जल चढाउनेहरुको समूहले छुट्टाछुट्टै भजनकीर्तन नाच गरेर श्रद्धा व्यक्त गर्नेहरुको लस्कर थिए । शाश्वतधाम तेस्रो वर्ष प्रवेश गरेको अवसरमा शिवलिंग राखिएको स्थानमा महारुद्री अभिषेक, पूजा गरिएको थियो । 

एकैथलोमा हिन्दुधर्मका सबै देवीदेवताको पुजाआजा गर्न पाइने भएकाले यहाँ भक्तजनहरुको विशेष श्रद्धा रहेको छ । पुजाआजामा तल्लीन भक्तजनहरुलाई मन्दिर व्यवस्थापनले भोजन प्रसादको व्यवस्थासमेत गरेको थियो । महेन्द्र राजमार्गको नारायणगढ बजारवाट २२ किलोमिटर पश्चिम दुम्कौलीमा दक्षिण भारतीय शैलीको भब्य र कलात्मक एकाम्बरेश्वर महादेवको मन्दिर रहेको छ । हरेक शिवरात्रिका अवसरमा यहाँ विशेष पूजा हुँदै आएको छ ।

मन्दिरको मुख्य प्रदेशद्वारमा १२ वटा ओम लेखिएको झण्डा शुक्रबार फहराइएको छ । पूर्वीनवलपरासीका प्रमुख जिल्ला अधिकारीलगायत सन्तमहन्तहरुले महाशिवरात्रिका अवसरमा एक वर्षसम्म राखिने ओम लेखिएका झण्डोत्तलन गरेका थिए । शुक्रवार राति १० बजेसम्म पूजा  भइरहने शाश्वतधाम व्यवस्थानका रामचन्द्र धितालले जानकारी दिए । 

शाश्वतधाम सर्वसारणलाई खुल्ला गरिएको ३३ महिनाको अवधिमा ३३ लाखभन्दा बढी श्रद्धालुले दर्शन गरेको धितालले जानकारी दिए । यहाँ त्यस अवधिमा ६ लाख भन्दा बढी भारतीय तिर्थालुहरु आएका छन् । भारतबाट पशुपतिनाथ, मुक्तिनाथ, काठमाडौँ, लुम्बिनी र पोखरा आउनेहरु यहाँ छिर्ने गर्छन् । 

नेपालमा पशुपतिनाथ र मुक्तिनाथ पछि सबै भन्दा बढी भक्तजनहरु यहाँ आउने गर्छन् । विभिन्न चाडपर्व, दसँै तिहार, तिज, शिवरात्रि, नयाँ वर्ष र हरेक शनिबार यहाँ बाक्लो घुइँचो लाग्छ । 

प्रतिक्रिया दिनुहोस