महराले सफाइ पाएपछि उनका वकिलले भने– ठूलो डिजाइनअनुसार फसाइएको थियो

सोमबार, ०५ फागुन २०७६, १५ : ४७
महराले सफाइ पाएपछि उनका वकिलले भने– ठूलो डिजाइनअनुसार फसाइएको थियो

काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराका वकिल नेपाल बार एसोसिएनका पूर्व महासचिव रमनकुमार श्रेष्ठले नेता महरालाई ठूलो डिजाइनअनुसार फसाइएको बताएका छन् । श्रेष्ठले भने, ‘ढिलै भए पनि महराले न्याय पाउनुभएको छ ।’ 

जिल्ला अदालत काठमाडौंबाट महराले सोमबार सफाइ पाएपछि  श्रेष्ठले महरामाथि राजनीतिक प्रतिशोध साँधेर फसाइएको बताए । 

‘उहाँलाई फसाउन देशभित्रबाट मात्र होइन, विदेशीको पनि हात थियो’ अधिवक्ता श्रेष्ठले भने, ‘पाँच महिनासम्म ठूलो मानसिक यातना दिने काम भयो ।’

पूर्व सभामुख कृष्णबहादुर महरा भने सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिन चाहेनन् । न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई निर्दोष ठहर गरेको छ । बबरमहलस्थित जिल्ला अदालतबाट सिधै डिल्लीबजार कारागार प्रस्थान गरेका महरालाई अदालतको फैसलासम्बन्धी पत्र प्राप्त भएपछि रिहा गरिने कारागार प्रशासनले जनाएको छ ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । 
बलात्कार प्रयासजस्तो गम्भीर आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।


 

प्रतिक्रिया दिनुहोस