वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले मनाए जनयुद्ध दिवस

विहीबार, ०१ फागुन २०७६, १६ : ५३
वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले मनाए जनयुद्ध दिवस

चितवन । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरुले जनयुद्ध दिवस मनाएका छन् ।

उनीहरुले कलेजका सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई रातो टीका लगाउँदै चकलेट बाँडेर जनयुद्ध दिवस मनाएका हुन् ।

२०५२ फागुन १ गतेबाट तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले मुलुकमा आमुल राजनीतिक परिवर्तनका लागि दश वर्षसम्म भूमिगत रुपमा सशस्त्र जनआन्दोलन चलाएको थियो । त्यही जनआन्दोलन सुरु गरिएको दिनको सम्झनामा फागुन १ जनयुद्ध दिवस मनाइन्छ । 

तर एमाले र माओवादीको एकता भएपछि यो दिवस मनाउने या नमनाउने भन्ने पार्टीले निर्णय गरिसकेको छैन् । दिवस भनेर नमनाइए पनि अहिले जनआन्दोलन तथा जनयुद्धका सहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा भनेर मनाउने गरिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपाली जनताले गरेको महान जनयुद्ध र जनक्रान्तिको ठुलो उपलव्धिका रुपमा लिइन्छ । हजारौँको बलिदानी र योगदानपछि स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन विगतमा फरक फरक पार्टीले फरक फरक किसिमका आन्दोलनहरु गरेका थिए । 

कहिले एक्लै त कहिले संयुक्त रुपमा भएका यस्तै आन्दोलनहरुमार्फत मुलुकमा जरा गाडेर बसेको राजतन्त्रको बर्हिगमन सम्भव भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । 

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न खासगरी तत्कालीन माओवादी, एमाले र काँग्रेसको विशेष भूमिका रह्यो । प्रकारान्तरमा ती तीन दलमध्ये तत्कालीन एमाले र माओवादी मिलेर नेकपा बनेको हो ।

प्रतिक्रिया दिनुहोस