नेकपाको जनयुद्ध दिवसमा अध्यक्ष प्रचण्डले भने, ‘हामी समाजवादको बाटोतर्फ लागेका छौँ’

विहीबार, ०१ फागुन २०७६, ११ : ४८
नेकपाको जनयुद्ध दिवसमा अध्यक्ष प्रचण्डले भने, ‘हामी समाजवादको बाटोतर्फ लागेका छौँ’

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी मुख्यालय धुम्बाराहीमा जनयुद्ध दिवसको अवसरमा गरिएको श्रद्धाञ्जली सभामा नेपाल समाजवादतर्फ अघि बढेको बताउनुभएको छ ।  अध्यक्ष प्रचण्डले नेपालको कम्युनिष्ट सोभियत युनियनको जस्तो हुन नहुने बताउनुभयो । उहाँले सोभियत युनियनका कम्युनिस्टको इतिहासलाई बुझेर उनीहरुका कमी

कमजोरीलाई सच्याउँदै नेपाली कम्युनिस्टहरु मौलिक ढङ्गले अघि बढ्नुपर्ने बताउन्भयो । प्रचण्डले भन्नुभयो, ‘शान्तिपूर्ण, प्रतिश्पर्धात्मक, लोकप्रिय मत ल्याएर शासन सत्तालाई सुशासनमा बदलेर सामाजिक न्याय, विकास निर्माण, समतामुलक समाज निर्माण गर्न मेहनत गरेर समाजवाद बनाउने बाटोतर्फ लागेका छौँ ।’

उहाँले कम्युनिष्टलाई विरोधीले कहिल्यै पछार्न नसक्ने बताउँदै भन्नुभयो, ‘सत्तामा पुगेपछि उनीहरुमा जुन किसिमको वैचारिक स्खलन, सांस्कृतिक स्खलनको प्रक्रिया बढ्यो, काल त्यही भएर आयो।’
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख आतिथ्यमा सम्पन्न  कार्यक्रमबाट ‘जनयुद्ध दिवस’ को विधिवत अन्त्य भई फागुन १ लाई ‘श्रद्धाञ्जली सभा’का रूपमा मनाउन थालिएको छ।

२०५२ साल फागुन १ गतेबाट सशस्त्र संघर्ष गरेको सम्झनामा तत्कालीन नेकपा माओवादीले फागुन १ लाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आएको थियो। तर, उसले नेकपा एमालेसँग पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी नेकपागठन भएको दोस्रो वर्षमै ‘जनयुद्ध दिवस’को विधिवत अन्त्य गरिएको छ।

‘जनयुद्ध दिवस’को विधिवत अन्त्य भएसँगै नेकपाले उक्त कार्यक्रमलाई ‘जनआन्दोलन तथा जनयुद्धका सहिदको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभा’मा परिणत गरी फागुन १ को सम्झना गरेको छ। सभामा उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्थायी समिति सदस्य प्रदीप ज्ञवाली, पम्फा भुसाललगायतको उपस्थिति रहेको थियो।

नेकपाका अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा सहभागी हुने भनिए पनि स्वास्थ्यको कारण देखाउँदै अन्तिममा उनी उपस्थित भएनन्। कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पनि अनुपस्थित रहे।

तर, उक्त कार्यक्रममा मदन भण्डारी, जीवराज आश्रितसहित तत्कालीन माओवादी युद्धमा सहादत प्राप्त गरेका सुरेश वाग्ले, रितबहादुर खड्कालगायतका तस्बिरमा भने माल्यार्पण गरिएको थियो। जहाँ प्रचण्डलगायतले माल्यार्पण गरेका थिए।

प्रतिक्रिया दिनुहोस