चितवन झरेका जुम्लेलीको दुखेसो : सरकारले हामीलाई चिन्दैन

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, १६ माघ २०७६, १३ : ०३
चितवन झरेका जुम्लेलीको दुखेसो : सरकारले हामीलाई चिन्दैन

- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । हिमाली जिल्लाका मानिसहरु हिउँदमा घुमन्ते व्यापार गर्न तराई झर्नु कुनै नौलो होइन । तराईका जिल्लाहरुमा झरेर उनीहरुले आफ्नो भेगमा पाइने विभिन्न जडिबुटीहरु बेच्ने गर्छन् । 

चितवनमा पनि वर्सेनि हिमालबाट घुमन्ते व्यापारीहरु आउने गर्छन् । पोखरा बसपार्कमा भेटिएका २८ वर्षीय जयबहादुर बुढाले आफू जुम्लाबाट जडिबुटी बेच्न चितवन आएको बताए । गाउँबाट आफू पाँच जनाको समूह बनाएर चितवन आएको बताउने उनले होटलमा २०/२२ जनाको समूहमा सँगै बस्ने र दिनभर व्यापारमा निस्किने गरेको उनले सुनाए । 

उनका अनुसार समूहमा आएको टोलीले झोलामा हालेर जुम्लाबाट जिम्बु, सिलाजित, हिङ, सतुवा, खिराङ्गलो, भोटे खैर, कम्राज, घोडमच्यो, जेठिमधु, विरेनुन, माझी फल, चिराइनो, चुरन (ग्यास्ट्रिकको दबाई), पदमचार, देवदार तेल, यार्सागुम्बालगायतका जडिबुटी ल्याएर बेचेका छन् । जडिबुटीबाहेक उनीहरुले पोते, माला, औंठी, कपुर, बाला, नङ्कट, कनकर्नाेलगायतका समानहरु भने यतैको होलसेलबाट किनेर बेच्दै आएका छन् । 

‘बाटोमा दुई वटा राष्ट्रिय निकुञ्जबाट चेकपास भएर जडिबुटी ल्याउँछौ त्यसैले हामीले बेच्ने समान सबै कानुनी मान्यता प्राप्त छन्’ बुढाले भने ‘यी समान हामी अदालत र प्रहरी प्रशासनमा गएर पनि बेच्न सक्छौं ।’ उनका अनुसार उनीहरुले ल्याउने जडिबुटी शुद्ध हुन्छ । त्यसले काम गरेन भने पनि बेफाइदा भने गर्दैन । आफूहरुले दिएको दबाई नियमअनुसार प्रयोग गरेमा हामीले भने अनुसार नै काम गर्ने उनले बताए । 

‘जस्तै ग्यास्ट्रिकको दबाई हामीले दिन्छौं । त्यो नियमअनुसार खाँदैनन् । मुख बार्दैनन् । अनि काम छैन भन्दै कुरा काट्दै हिँड्छन्’ उनले भने । आफूहरुले ल्याउने जडिबुटीप्रति विश्वास गर्न उनले आग्रह गरे ।

रहरले नभई बाध्यताले यसरी झोले व्यापारी भएर गाउँघर चाहर्दै हिँड्नु परेको बुढाले दुखेसो पोखे । उनले यसरी व्यापार गर्दै हिँडन लागेको चार वर्ष भएको छ । उनकोमात्र होइन यो अधिकांश हिमालीहरुको पुख्र्याैली पेसा हो । बुबाले यही पेसा गरेर आफूलाई १२ कक्षासम्म पढाएको बुढाले बताए । २०/२२ जनामा जयबहादुरले मात्र यति धेरै पढेका रहेछन् । केही पाँच कक्षाभन्दा तल पढेका मात्र रहेछन् ।

‘१२ पास गरेपछि प्रहरीमा जागिर खान भर्ना भएँ । दौडदेखि लिएर सबै पास गरें, तर पछि पैसाको बार्गेनिङ्ग भयो । म गरिबले पैसा खुवाउन सकिनँ’ उनले भने ‘त्यसपछि आफूलाई विराक्त लागेर आयो । जति पढेर दक्ष भएपनि पैसा नखुवाई काम नपाइने रहेछ भन्ने लागेर पढाइ छाडी यो पेसामा लागें ।’

बुढाका अनुसार गर्मी याममा मानिसहरुलाई जंगलमा पस्न दिइन्छ । स्थानीयहरुले स्थानीय सरकारसँग अनुमति लिइ जंगलमा गएर विभिन्न जडिबुटी संकलन गर्दछन् । उक्त संकलित जडिबुटीमध्ये धेरै जसो संकल गरी राखिएको ठाउँबाटै बाहिरबाट किन्न आएका व्यापारीले लैजान्छन् । थोरै मात्रामा स्थानीयहरुले जडिबुटी घरमा ल्याउँछन् । त्यसैलाई बेच्नका लागि उनीहरु तराई झर्छन् । 

हिउँदको समयमा हिमालमा खासै काम नहुने हुँदा दुई/चार रुपैयाँ कमाइन्छ कि भनेर हिमालीहरु तराई झर्ने गर्छन् । उता बेच्नुभन्दा यता आएर बेच्दा राम्रो आम्दानी हुने उनले बताए । अधिकांश जुम्लेलीहरु हिउँदयाममा मात्र तराई झर्छन् । कोहीकोही भने बाह्रैमास व्यापार गरिरहेका हुन्छन् । सबैले जडिबुटीमात्र बेच्दैनन् । गलैंचा र लुगाहरु पनि बेच्ने गर्छन् ।

उनका अनुसार चिसो र हिमपातको कारण त्यहाँका विद्यालय झण्डै तीन महिनाका लागि बन्द भएपछि अधिकांश विद्यालयका स्कुले बालाबलिकाहरु पनि समूह बनाएर जडिबुटीको व्यापार गर्न तराई झर्ने गर्छन् । कोही बाउआमासँग आउने गर्छन् । कोही बेँसी झरेर पढ्ने गर्छन् ।

विभिन्न जिल्लाहरुमा वडैपिच्छे कर तिरेर रसिद लिँदै हिंड्नुपर्ने व्यवस्थाले आफूहरु आजित भएको उनले गुनासो गरे । चितवनमा खुल्ला रुपमा हिँड्न पाए पनि बागलुङ, रसुवा, सिन्धुपाल्चोकमा यस्तो कर लिने व्यवस्था भएको उनले बताए । त्यहाँका स्थानीयले आफूहरु  गएको खबर वडासम्म पुराउने र वडाका मानिस आएर रसिद काट्न लगाउने गरेकोे उनले बताए । आफूहरुसँग पैसा नभएको बेला बिहानै उनीहरुले देखे भने व्यापार गर्न नदिने गरेको उनले दुखेसो पाखे ।

‘हामी सरकारलाई कर तिर्न तयार छौं । तर एउटा व्यवस्थित हनुपर्छ । हाम्रो काम भनेकै गाउँ, घर, शहरमा डुल्दै समान बेच्ने हो । एकै दिन धेरै वडामा पुगिन्छ । तर प्रत्येक वडैपिच्छे कर तिर्नुपर्ने व्यवस्था गरिएका ती जिल्लामा पुग्दा हामी आजित हुन्छौं’ उनी गुनासिए । 

‘सरकारले हामीलाई चिन्दैन । जुम्लेलीहरु झोला बोकेर खानलाउनकै लागि घुमन्ते व्यापार गर्न तराई झर्छन भन्ने उसलाई थाहा छैन्, उनले भने ‘यदि थाहा भएको भए हामीबाट कर लिने एउटा सही नीति बनाएर देशभर स्वतन्त्र भएर घुम्न दिन्थ्यो ।’ जो जुन ठाउँबाट आउँछ त्यही ठाउँमा कर तिर्ने र देशभर घुम्न पाउने प्रावधान ल्याउन उनले सरकारसँग माग गरेका छन् । 

‘यहाँ तीन/चार महिना गरिएको व्यापारले हामीले महल बनाउने होइन । काठमाडौंमा घडेरी किन्ने होइन । बालबच्चाको पढाइ खर्च र नुनतेलको जोहो गर्नै पुगनपुग हुन्छ’ उनी भन्छन् ‘हामी त झोले व्यापारी हौं । झोलामा अट्ने समान लिएर बेच्न हिँड्छौं । ट्रककाट्रक त जुम्लाबाट जडिबुटी बिदेशिएको छ । त्यही जडुबुटीबाट ट्याबलेट बनेर फेरि नेपालमै भित्रिएको छ ।’ सरकारले जुम्लामा जडिबुटी प्रशोधन केन्द्र खोलेमा कर्णालीकोमात्र होइन समग्र देशको आर्थिक अवस्था सुदृढ हुने उनको बुझाइ छ । 

प्रतिक्रिया दिनुहोस