चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फेसबुकले किन माग्यो माफी ?

सोमबार, ०६ माघ २०७६, ०७ : ५८
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फेसबुकले किन माग्यो माफी ?

काठमाडौँ  । चिनियाँ राष्ट्रपति सीको नाम बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फेसबुकले माफी मागेको छ ।

बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा सीको नाममा प्राविधिक कारणले अर्कै अर्थ लाग्ने शब्द देखिएको भन्दै उसले शनिबार माफी मागेको हो । सी हाल दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमार भ्रमणमा छन् । भ्रमणको दोस्रो दिन सी र म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीबीच दर्जनौं सम्झौता भएका थिए । सोही सम्झौतापछि सुकीको आधिकारिक फेसबुक पेजमा सीबारे उल्लेख गरिएको थियो ।

तर जब फेसबुकमा त्यसको अंग्रेजी अनुवाद गरियो राष्ट्रपति सीको नाममा ‘अश्लील अर्थ’ लाग्ने अंग्रेजी शब्द देखियो । स्थानीय न्युज जर्नल ‘द इर्रावाड्डी’ मा सोही गलत अंग्रेजी शब्दसहितको ‘हेडलाइन’ समेत प्रकाशित भएको थियो ।

‘फेसबुकमा बर्मेलीबाट अंग्रेजी भाषामा भएको गलत अनुवादसम्बन्धी प्राविधिक विषयलाई हामीले समाधान गरेका छौं । यस्तो गल्ती हुनुहुँदैन्थ्यो र भविष्यमा यस्ता गल्ती नहोऊन् भनेर हामीले कदम चालेका छौं । यो गल्तीका लागि हामी इमानदारीका साथ माफी माग्छौं,’ फेसबुकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस