तस्करको तारोमा थिए दिलीप, ५० हजार लिएर हत्या

पत्रपत्रिकाबाट

आइतबार, २७ पुस २०७६, ०७ : २५
तस्करको तारोमा थिए दिलीप, ५० हजार लिएर हत्या

file photo

जनकपुरधाम । क्रसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्न खोला पुगेका धनुषाका दिलीप (ओमप्रकाश) महतोको हत्या गर्न लगाएको रहस्य सार्वजनिक भएको छ।

मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाशलाई शुक्रबार टिपरले किचेर हत्या गरिएको थियो। चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलीपको हत्या गराएको स्रोतले दाबी गरेको छ।

उत्खनन रोक्न गएका दिलीपलाई क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका-१२ बिजलपुराका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका-९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए।

टिपरले किच्नुअघि विपिनले पहिले दिलीपसँग झगडा गर्दै लिभरले कुटेका थिए। कुटाइबाट गम्भीर घाइते दिलीपको हत्या गर्ने योजना खोलामै बनेको थियो। किचेर हत्या गराउन क्रसरधनी विपिनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए। ‘तँलाई ५० हजार दिन्छु, यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ। यसलाई मार्नै पर्छ, नत्र हाम्रो व्यापार नचल्ने भयो’, विपिनले टिपर चालकसँग हत्या गर्नुअघि गरेको डिलबारे स्रोतले जानकारी दिँदै भन्यो।

कुटपिटबाट बेहोस भएका दिलीपलाई खोलामै लिकमा राखेर ना.७ ख ६४१३ नम्बरको लोड टिपर ब्याक गरेर हत्या गरिएको थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस