काठमाडौं । राष्ट्रिय सभाका १८ सिटका लागि हुन लागेको चुनावमा उम्मेदवारहरुले आज मनोनयनपत्र दर्ता गराउदैछन् । ९ माघमा हुने निर्वाचनमा उम्मेदवार मनोनयनका लागि निर्वाचन आयोगले आज कार्यतालिका तोकेको छ । आयोगले उम्मेदवार दर्ताका लागि बिहान १० वजे देखि दिउँसो ३ बजे सम्मका लागि समय तोकेको छ ।
सातैं प्रदेशमा उच्च अदालत रहेको जिल्लामा आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । निर्वाचनमा काँग्रेस र समाजवादी तथा नेकपा र राजपा बीच चुनावी तालमेल भएको छ । जसअनुसार, राजपा र समाजवादी पार्टीले भने दुई दुई स्थानमा मात्र प्रतिस्पर्धा गर्दै छन् भने अन्य १६ स्थानमा काँग्रेस र नेकपाका उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
नगरपालिका, गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रदेश सभाका सांसदहरुको फरक मतभारका आधारमा हुने निर्वाचनमा नेकपा र राजपा गठबन्धन विजयी हुने सम्भावना अधिक छ । प्रदेश २ को अन्य समुहमा हुन लागेको चुनावमा भने एकै परिवारका दुई दाजुभाई चुनावी प्रतिस्पर्धा गर्न लागेका छन् ।
उनीहरु अलग अलग राजनीतिक दलका तर्फवाट चुनावी प्रतिस्पर्धामा उत्रन लागेका हुन् । सप्तरीको बोदेबर्साइन नगरपालिकाका अनिरुद्र सिंह यादव र उनका भाइ मृगेन्द्र सिंह यादवबीच प्रतिस्पर्धा हुन लागेको हो ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मृगेन्द्रलाई र समाजवादी पार्टीले अनिरुद्रलाई प्रदेश २ को अन्य समुहवाट चुनावी प्रतिस्पर्धामा उतारेको हो । राजपाले मृगेन्द्रलाई शनिबार दिउँसै उम्मेदबार बनाउने निर्णय गरे पनि अनिरुद्रलाई शनिबार राति समाजवादी पार्टीले उम्मेदबार चयन गरेको थियो । २०७० सालको संविधानसभा निर्वाचनमा पनि दुवैले सप्तरी क्षेत्र नम्बर ४ बाट फरक–फरक दलबाट प्रतिस्पर्धा गरेका थिए ।
मृगेन्द्र तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट र अनिरुद्र मधेशी जनअधिकार फोरमबाट उम्मेदबार बनेका थिए । तर, दुवै पराजित भए । सो क्षेत्रबाट नेपाली कांग्रेसका सुरेन्द्र यादव निर्वाचित भएका थिए ।
राष्ट्रिय सभाको १ सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने कोटा छ । अर्थमन्त्री डा. युवराज खतिवडाको सिट पनि खाली हुदैंछ । त्यसमा भने निर्वाचन गर्नुपर्ने छैन् । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सम्वैधानिक ब्यवस्था अनुसार हुनेछ ।
राजनीतिक दलहरुले उम्मेदवारी दर्ताका लागि आफनो तयारी पूरा भईसकेको जनाएको छ । नेकपाका महासचिव विष्णु पौडेलले सफलखबरसँग भने, –‘हाम्रो तयारी पूरा भईसकेको छ, उम्मेदवार पार्टीले बैठक बसेर चयन गरिसकेको छ, आज सम्बन्धित उम्मेदवारहरुले उम्ेमदवारी दर्ता गराउनुहुनेछ । प्रदेश २ को ४ सिटमा हुन लागेको निर्वाचनमा हामी दुई सिटमा राजपालाई सघाउनेछौं, राजपाले हामीलाई २ सिटमा सघाउनुहुनेछ । अन्य १६ स्थानमा नेकपाका उम्मेदवार नै चुनावी प्रतिस्पर्धामा जादैहुनुहुन्छ ।’
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि पार्टीले उम्मेदवार चयन गरिसकेको र त्यसका लागि आवश्यक तयारी भईसकेको प्रतिक्रिया दिए । ‘काँग्रेसले कँहा कसलाई चुनाव लडाउने भन्ने तय गरिसकेको छ, उहाँहरुले आज उम्मेदवारी मनोनयन गर्दै हुनुहुन्छ । प्रदेश २ मा समाजवादीसँग दुई दुई सिटमा तालमेल गरेका छौं, सबै तयारी निर्वाचनको पूरा भएको छ,’ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० पुस २०७६, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती विधेयकको त्रुटि राष्ट्रिय सभाबाट सुधार गरिने
नागरिकता (दोस्रो संशोधन) विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल
विनियोजन विधेयक २०८२ राष्ट्रिय सभाबाट स्वीकृत
राष्ट्रिय सभाबाट पानी जहाज विधेयक, २०८१ पारित
मनसुनअघि जोखिमको आँकलन गरेर पूर्व तयारी थाल्न सरकारलाई निर्देशन
प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने