पीपीएलको फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई दियो २ सय ३ रनको लक्ष्य

सफल खबर संवाददाता

शनिबार, १२ पुस २०७६, १३ : ११
पीपीएलको फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई दियो २ सय ३ रनको लक्ष्य

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई २ सय ३ रनको  लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनायो । चितवनका युवा ब्याट्सम्यान अनिलकुमार शाह र यूएईका अलराउन्डर रोहन मुस्तफाले अर्ध शतकीय इनिङ खेले । अनिल ३४ बलमा ३ चौका र ३ छक्का सहित ५० रनमा क्याच आउट भए । अनिललाई १६ औं ओभरको पहिलो बलमा पुनित मेहराले मोहम्मद जैदबाट क्याच गराए । अनिलले ३३ बलमा अर्धशतक पुरा गरेका थिए ।

अनिल आउट भएको तीन बलपछि रोहन मुस्तफापनि ५० रनमा आउट हुन पुगे । रोहन नोमन खानबाट ५० रनमा समातिन पुगे । रोहनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । रोहन मुस्तफाले ४२ बलमा अर्ध शतक पुरा गरेका थिए । तेस्रो विकेटका लागि अनिल कुमार शाह र रोहन मुस्तफाले ९५ रनको साझेदारी गरेपछि चितवन विशाल योगफलमा पुगेको हो ।

ओपनर पारस खड्का र रोहन मुस्तफाले पहिलो विकेटका लागि ३।२ ओभरमा ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । पारस खड्कालाई किशोर महतोले डीप स्क्वायर लेगमा पाकिस्तानका अलराउन्डर नोमन खानबाट २५ रनमा क्याच गराए । पारसले ११ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पाँचौ ओभरको चौथो बलमा मोहम्मद जैदले बाबर हायतलाई ५ रनमा बोल्ड गरे ।

तल्लोक्रममा आरिफ शेखले ११ बलमा १ चौका र २ छक्का सहित १९ रनमा जितेन्द्र मुखियाबाट क्याच हुन पुगे । आरिफलाई १९ औं ओभरको पहिलो बलमा जैदले क्याच गराएका थिए । सन्नी पटेल ८ बलमा २ चौका सहित १६ रनमा अविजित रहे । करण केसीले पनि आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र २ छक्कासहित २६ रन जोडे ।

विराटनगरका पुनित मेहराले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । मोहम्मद जैद आलमले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । किशोर महतोको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस