पोखराको विकास र समृद्धिको खाका तयार छ : विद्या भट्टराई

शुक्रबार, ०६ मंसिर २०७६, १६ : ३०
पोखराको विकास र समृद्धिको खाका तयार छ : विद्या भट्टराई

पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  उम्मेदवार विद्या भट्टराई (अधिकारी)ले आफूले पर्यटकीय नगरी पोखराको विकास र समृद्धिको खाका तयार गरेको बताउनुभएको छ । पोखरा महानगरपालिकाको दक्षिण भेग वडा नं २१ मा आज आयोजित चुनावी घरदैलो कार्यक्रममा उहाँले अबको तीन वर्षको अवधिमा बाँकी योजना सफल बनाएरै छाड्ने उद्घोष गर्नुभयो ।   
 
निर्मलपोखरीको दम्सादीबाट ८७ वर्षीया जसोदा आचार्य र ९२ वर्षीय खेमराज आचार्यबाट आशीर्वाद लिँदै शुभारम्भ भएको घरदैलो कार्यक्रम फेदीपाटन, अम्बोट हुँदै दबारमा पुगेर चुनावीसभामा परिणत भएको थियो । नेकपा पोखरा–२१ का चुनावी कमाण्डर दीपक पौडेल, झपट रानाभाट, नेकपा–२१ का अध्यक्ष कृष्ण थापा, प्रकाश पौडेललगायतले नेकपा सरकारले गरेका कार्यको चर्चा गर्दै भावी दिनमा गर्ने योजनाबारे  प्रकाश पार्नुभएको थियो ।
 
यसैबीच निर्वाचन क्षेत्रका ११ वटै वडामा आज नेकपाले पदयात्रा निकाल्दैछ । महिला निर्वाचन परिचालन कमिटीको समन्वयमा निर्वाचन हुने पोखराका  वडामा पदयात्रा निकालिन लागेको हो । पोखरा–८ मा पनि बिहानै महिलाले भट्टराईका पक्षमा पदयात्रा निकालेका छन् । सिर्जनाचोकबाट शुरु भएको पदयात्रा जाल्पारोड, बगालेटाल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अखिल नेपाल महिला सङ्घका निवर्तमान अध्यक्ष गोमा देवकोटाले पार्टीभन्दा माथि उठेर  नेत्री भट्टराईलाई जिताउनुपर्नेमा जोड दिनुभयो । - रासस

प्रतिक्रिया दिनुहोस