तीस महिनामा तीस लाख दर्शनार्थीले अवलोकन गरे शाश्वतधाम

सफल खबर संवाददाता

बुधबार, २७ कार्तिक २०७६, १० : ५९
तीस महिनामा तीस लाख दर्शनार्थीले अवलोकन गरे शाश्वतधाम

कावासोती। पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ दुम्कौलीमा चौधरी ग्रुपले निमार्ण गरेको शाश्वतधाम विगत ३० महिनामा ३० लाख भक्तजनले अवलोकन गरेका छन् । 
धार्मिक तथा पर्यटकिय क्षेत्रको दृष्टिकोणले महत्वपुर्ण रहेको धाममा घुम्न र एकाम्बेश्वर महादेवको दर्शनका लागि दैनिक ठुलो संख्यामा दर्शनार्थी तथा भक्तजन आउने गरेका छन् । धाम सुरु भएको ३० महिनाको अबधिमा अहिले सम्म ३० लाख भक्तजनले अवलोकन गरेको सिजिआईपी महाप्रवन्धक नारायण श्रेष्ठले बताए । । दैनिक रुपमा तिन हजार भन्दा बढिले शाश्वतधामको अवलोकन गर्ने गरेको बताइएको छ।

शाश्वतधामलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्येश्यले चौधरी गु्रपले मन्दिर निर्माण गरेको हो । मन्दिर स्थापना भएको अढाई वर्षमा तिस लाख दर्शनार्थीले अवलोकन गरेको अवसरमा धाम परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।  उक्त अवसरमा तिस लाखौ दर्शनार्थी सिता मल्ल सहित ३० जना भक्तजनलाई सम्मान गरिएको छ । पञ्चेबाजा र फुलमाला सहित ३० जनालाई सम्मान गरिएको थियो ।

२०७३ फागुन २५ बाट सर्वसाधारणका लागि खुल्ला गरिएको शाश्वत धाम लाई गत बर्ष ‘वेस्ट टुरिष्ट डेस्टिनेशन’को रुपमा अर्वाड प्रदान गरिएको छ। यो सगै पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण बनेको छ । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातीको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग निर्माण गरिनुका साथै पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका हिन्दु देवी देवताका प्रतिमाहरु निर्माण गरिएको छ ।  शाश्वतधामको कलात्मक आर्कषक शैलीले सबैलाई लोभ्याउने गरेका कारण सार्वजनिक विदा, चाडपर्वको अवसरमा ठुलो भिडभाड लाग्ने गरेको सिजिआईपी महाप्रवन्धक नारायण श्रेष्ठले बताए ।

कला , बास्तु शास्त्र अनुसार मिलाएर एकै स्थानमा सबै देबी देउताको पुजाआजा र र्दशनगर्न सकिने यस्तो फरक शैलीको मन्दिर नेपालमा अन्यत्र नभएको मन्दिर व्यवस्थापनको दाबी छ । सात विगाहा क्षेत्रफलमा फैलिएको शास्वतधाम विभिन्न देवीदेवताका मन्दिर, आश्रम, गुरुकुल, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, शाकाहारी भोजनालय निर्माण गरिएकोे छ ।

खजुरवान शैलीमा निर्माण गरिएको शास्वतधाम नेपालकै नमुना र गौरबका रुपमा लिइएको छ । अहिले देशै भरबाट धाम घुम्नका लागि भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । धाममा दैनिक हवन, भजन कृतन, पुजा लगाएतका धार्मिक कार्य समेत हुने भएकाले पनि धामको महत्व अझ बढेको पाईन्छ ।

नवलपरासीको दुम्कौलीमा रहेको शाश्तधामको निर्माणले यस क्षेत्रको धार्मिक तथा पर्यटन विकास संगसंगै सनातन धर्मको उत्थानका लागि महत्पुर्ण भुमिका रहेको छ । धाम १६ वर्ष लगाएर निर्माण सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस