चिनियाँ राष्ट्रपति सि र अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा कसले के भने ?

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, १३ : ४२
चिनियाँ राष्ट्रपति सि र अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा कसले के भने ?

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम राष्ट्रपति सि जिनपिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । आज बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भएको भेटवार्ता सौहार्दपुर्ण र सकारात्मक रुपमा सम्पन्न भएको छ । भेटवार्ता दुई देश र दुई देशका कम्युनिष्ट पार्टीका सम्बन्ध र विकास बारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा भएको चीनको भ्रमण, त्यस पछिका भ्रमण र गोवामा भएको भेटवार्ताको स्मरण गर्नुभयो । अध्यक्षले चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले नेपाल र नेपाली जनताका लागि गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो ।

अध्यक्षले चीन जस्तो छिमेकी पाउँदा आफूलाई गर्व महसुश भएको पनि बताउनुभयो । उहाँले दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त र्गनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामि दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु ।’ 

अध्यक्ष प्रचण्डले बिआरआईमा हस्ताक्षर गरी नेपाल र चीन बीचको सम्बन्धमा नयाँ युगको सुरुवात भएको बताउनुभयो । उहाँले दुबै देश र जनताको हितको निम्ति समयसीमा निर्धारण गरी आयोजनाहरुको छनौट र तीब्र क्रियान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । विकास बिना राजनैतिक स्थायित्व हासिल गर्न नसकिने बताउनुहुँदै समृद्ध चीन नेपालका लागि अवसर भएको उहाँको भनाई थियो ।

राष्ट्रपति सी जिनपिङले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति सीले नेपाली जनताले कम्युनिष्ट पार्टीलाई हृदयदेखि मन पराएको बताउनुहुँदै समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ,’ राष्ट्रपति सीको भनाई थियो । उहाँले कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउनुहुँदै यसलाई अझै मजबुत बनाउनुपर्ने कुरा गर्नुभयो । राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीचको भेटमा पार्टीका सचिवालय सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस