नेकपाका नेताहरुलाई चिनियाँ राष्ट्रपति सीले भने– कम्युनिस्ट पार्टीमा आत्मअनुशासन चाहिन्छ

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, १२ : ०८
नेकपाका नेताहरुलाई चिनियाँ राष्ट्रपति सीले भने– कम्युनिस्ट पार्टीमा आत्मअनुशासन चाहिन्छ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेकपाका नेताहरुसँगको सामूहिक भेटवार्तामा नेकपा नेताहरुलाई आत्मअनुशासन बलियो बनाउन सुझाव दिएका छन् ।  

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सीले कम्युनिस्ट पार्टीमा आत्मअनुशासन बलियो हुन आवश्यक रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पनि आत्मअनुशासन बलियो हुनुपर्नेमा जोड दिएका थिए । 

सीले जनता, पार्टी र सरकारबीचको समन्वयात्मक सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा पनि सो क्रममा जोड दिए । सन् १९४९ मा शक्ति आर्जन गरेपछि मात्रै चीनले विकास गरेको नभइ समानुकुल जनतासँग जोडिएर विकास गरेको उनको भनाइ थियो । जनतालाई जोडेर गरिएको विकासले जनता खुसी हुने र पार्टी तथा सरकार पनि बलियो हुने सीको भनाइ छ ।

छलफलका क्रममा नेकपा अध्यक्ष प्रचण्डले चीनको विकासबाट नेपाल लाभान्वित हुन चाहेको भन्दै प्रचण्डले पार्टीस्तरमा पनि सहयोग विचार आदानप्रदान चाहेको बताए । उनले शब्दमा मात्र नभइ एक चीन नीतिप्रति नेपाल व्यवहारिक रुपमा प्रतिबद्ध रहेको बताए । 

प्रचण्डको भनाइलाई जवाफ दिँदै सीले चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच पार्टीस्तरमा पनि सहयोग विचार आदानप्रदान गर्न आफू इच्छुक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस