राखेपका सदस्य सचिव विष्टद्धारा तेकवान्दो उद्घाटन

शुक्रबार, १९ माघ २०७४, १८ : ३१
राखेपका सदस्य सचिव विष्टद्धारा तेकवान्दो उद्घाटन

चितवन । भरतपुरको कबर्डहलमा जुनियर तर्फको ११औँ जिल्लास्तरीय तेकवान्दो प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय तेकवान्दो संघ जिल्ला शाखा चितवनले आयोजना गरेको तेकवान्दो प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवराज विष्टले गरेका हुन् ।

तेकवान्दोको उद्घाटन गर्दै विष्टले नेपालमा कुनै पनि खेल खेलेर नै जीवन निर्वाह गर्नसक्ने अवस्थाको सिर्जना गर्ने बताए । आफ्नै कार्यकालयमा खेलाडीलाई खेलेरै खान पुग्ने वातारण बनाउने उल्लेख गर्दै विष्टले मिहेनतका साथ खेल्नको लागि खेलाडीहरुलाई आग्रह गरे । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा खेलाडीहरुले आफ्नो ठाउँको नाम चिनाउने गरि राम्रोसँग खेल्नुपर्ने समेत विष्टले बताएका छन् । अहिले तेकवान्दो संघमा दुई वटा धार देखिएकोले ती दुवैलाई मिलाएर एउटै संघ बनाउन आफूले पहल सुरु गरिसकेको विष्टले बताए । एउटै विधाको खेलमा दुई वटा संघ भन्दा एउटा संघ भएमा बलियो हुने भएकोले एउटा संघ बनाएर अगाडि बढ्ने विष्टको भनाइ थियो ।

शुक्रबार उद्घाटन गरिएको तेकवान्दो प्रतियोगितामा चितवन तथा नवलपरासीको विभिन्न २८ वटा डोजाङबाट दुई सय ५० खेलाडीहरु सहभागी भएका छन् । तौल समूह र कातामा गरि प्रतिस्पर्धा गराइने उल्लेख गर्दै राष्ट्रिय तेकवान्दो संघका अध्यक्ष विकास श्रेष्ठले सेतो पेटी, पहेँलो पेटी र हरियो पेटीमा खेलाडीहरुलाई प्रतिस्पर्धा गराइने बताए । त्यस्तै, पुरुष तर्फ २० केजीदेखि ५८ केजी तौल समूहसम्म र महिला तर्फ २० केजीदेखि ५३ केजी समूहसम्म प्रतिस्पर्धा गराइदैछ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने डोजाङ र उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिनेछ भने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र दिइने श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस