श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया

सफल खबर संवाददाता

मंगलबार, २८ साउन २०७६, १२ : २२
श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया

चितवन । चितवनमा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन सम्बन्धमा  अन्तरक्रिया भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखा र पारिश्रमिक निर्धारण समितिको संयुक्त आयोजनामा भएको  अन्तरक्रिया कार्यक्रममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न सञ्चार माध्यमलाई दबाब सिर्जना गर्नुपर्नेमा जोड दिइएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि अग्रज पत्रकार किशोर नेपालले पत्रकारहरुले पनि आफ्नो क्षमता वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्षमता वृद्धि गनूर्स्, पारिश्रमिक पूरा लिन सक्नुहुन्छ, आफ्नो क्षमता वृद्धि नगरी तपार्इँ पूरा पारिश्रमिकमा दावी गर्न सक्नुहुँदैन ।’

कार्यक्रमका विशिष्ट अतिथि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले नियुक्ति लिनेबित्तिक्कै साना मिडियाको हकमा न्यूनतम १७ हजार ६२५ र ठूला मिडियाको हकमा २४ हजार ३७५ रुपैयाँ कायम हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मिडिया हाउस पत्रकारको क्षमता हेरी अधिकतम जति पनि जान सक्छन् ।’
कार्यक्रममा उहाँले न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चार माध्यमहरुको निगरानी गर्ने आवश्यक कारबाही प्रक्रियामा जान सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यसको लागि त्यहाँ काम गर्ने पत्रकारहरुले पूरा पारिश्रमिक नपाएको विषयमा पत्रकार महासंघ, न्यूनतम पारिश्रमिक निर्धारण समितिमा उजुरी गर्न सक्नुहुन्छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, कृष्ण गिरी, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष दीपक आचार्यलगायतले मन्तव्य दिएका थिए । चितवनका पत्रकारहरुले आफूले काम गरेको मिडिया हाउस र त्यहाँ रहेको सेवासुविधाका बारेमा जानकारी गराएका थिए । 
कार्यक्रम पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस