१० प्रतिशत रोपाइँ हुने खेत बाँझै

सफल खबर संवाददाता

सोमबार, २७ साउन २०७६, १७ : १४
१० प्रतिशत रोपाइँ हुने खेत बाँझै

चितवन । गत वर्ष रोपाइँ भएका १० प्रतिशत खेतीयोग्य जमिन यतिबेला बाँझै हुने अवस्था सिर्जना भएको छ । पर्याप्त पानी नपर्दा ती खेतहरु बाँझै हुने अवस्था सिर्जना भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सतह सिँचाइ भरपर्दो नहुँदा जिल्लामा अझै १० प्रतिशत रोपाइँ हुन सकेको छैन । कृषिज्ञान केन्द्र भरतपुरका अनुसार अघिल्लो वर्ष यतिबेला ९८ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष ९० प्रतिशत मात्र रोपाइँ भएको हो । 

जिल्लामा २८ हजार ६०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा २५ हजार ८०० हेक्टरमा मात्र धान रोपाइँ भएको कृषिज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिनुभयो । प्रमुख श्रेष्ठका अनुसार जिल्लाका चारवटा स्थानीय तहमा रोपाइँ शतप्रतिशत भएको भए पनि अन्य तीन वटा तहमा पानीको अभावका कारण लक्ष्य अनुसारको रोपाइँ हुन नसकेको हो । रोपेको खेतमा पनि पानीको अभावमा धाँजा फाटेका छन् ।

भरतपुर महानगरपालिकामा सबैभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ । महानगरमा अहिलेसम्म ८० प्रतिशत मात्र रोपाइँ भएको श्रेष्ठले जानकारी दिनुभयो । यस्तै कालिका नगरपालिकामा ९६ प्रतिशत, ईच्छाकामना गाउँपालिकामा ९० प्रतिशत मात्र रोपाइँ भएको छ ।

रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिकामा भने शतप्रतिशत भएको उहाँले बताउनुभयो । भरतपुर महानगरका अधिकांश क्षेत्रमा सतह सिँचाइ गर्नुपर्ने भएकाले रोपाइँ कम भएको हो । कार्यालयका बाली विकास अधिकृत माधव पौडेलले रोपाइँ कम भएसँगै धानको उत्पादनमासमेत कमी आउने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस