अष्ट्रेलियामा सडक दुर्घटना : दुई नेपालीको मृत्यु, तीन जना घाइते

एजेन्सी

आइतबार, १२ साउन २०७६, १५ : ३८
अष्ट्रेलियामा सडक दुर्घटना : दुई नेपालीको मृत्यु, तीन जना घाइते

फाेटाे: एबिसी न्यूज

काठमाडौं । सिड्नीबाट स्नोई माउन्टेनतर्फ तीव्र गतिमा जाँदै गरेको कार सडक छोडेर पल्टिएपछि त्यसमा सवार दुई जना नेपालीको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

कारले सडक छोडेर एउटा रूखसँग ठोक्किएपछि पछिल्लो सिटमा रहेकी महिला केही मिटर पर हुत्तिएकी तथा गाडीले करिब १ सय ६० मिटरसम्म चिप्लिएर घस्रिएको प्रहरीले जनाएको छ । न्यू साउथवेल्स प्रहरीका अनुसार मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् भने २२ वर्षीय चालक तथा १९ वर्षीय दुई यात्रुहरूको टाउकोमा चोट लागेको छ ।

घाइते चालक र दुई यात्रुलाई न्यूसाउथवेल्स एम्बुलेन्सका रामेडिक्सले घटनास्थलमा प्राथमिक उपचारपश्चात् नजिकैको अस्पतालमा पुर्‍याएका थिए । त्यहाँबाट चालक र एक यात्रुलाई थप उपचारका लागि हेलिकप्टरबाट क्यानबेरा अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइतेहरू खतरामुक्त रहेको जनाइएको छ ।

एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा क्यानबेरा राज्यका संयोजक राजन ढुङ्गेलले घटना भएको थाहा पाउना साथ आफूहरू सहयोग गर्न लागिपरेको बताए । उनले भने, “एनआरएनएका प्रतिनिधिहरू, अस्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटी लगायतका स्थानीय समाजसेवीहरूले आवश्यक समन्वय र सहयोग गर्न बिहानैदेखि लागिपरेका छौं । नेपाली दूतावासका प्रतिनिधिहरूले यस घटनालाई सहकार्य गर्न अग्रणी भूमिका खेलिरहेका छन् ।”

प्रतिक्रिया दिनुहोस