चितवनको पटिहानीमा ‘प्रथम मेयर कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता’ हुने

शुक्रबार, १२ माघ २०७४, १० : ०२
चितवनको पटिहानीमा ‘प्रथम मेयर कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता’ हुने

चितवन । चितवनमा  ‘प्रथम मेयर कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता’ हुने भएको छ । भरतपुर महानगरपालिका वडा नं.२२ पटिहानीको आयोजनामा यही माघ २७ गतेदेखि फागुन १ गतेसम्म आधारभुत विद्यालय धनौजीको खेलमैदानमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवंम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम तय भएको मुल आयोजक समितिका संयोजक तथा वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो । उहाँले प्रतियोगिता तयारी अहिले तिव्र पारिएको बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न १६ वटा उपसमितिहरु गठन गरिएको अध्यक्ष महतोले जानकारी दिनुभयो । प्रतियोगितामा विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, पश्चिमाञ्चल, न्यू डायमण्ड एकेडेमी र भारतको एक टिम गरि ६ टिमको सहभागिता रहने प्रचार–प्रसार उपसमितिका संयोजक रामहरि सेढाईले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रचार–प्रसार उपसमितिका संयोजक सेढाईले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाईने छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

चितवनमा महिलाहरुको पहिलो पटक राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो । यसअघि पदमोदय युवा क्लवले पटिहानीमा नै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको पुरुष भलिवल प्रतियोगिताहरु सम्पन्न गरि सकेको छ ।

 

प्रतिक्रिया दिनुहोस