प्रतिनिधिसभा बैठक अवरोध : सत्ता पक्ष र विपक्षका आफ्नै तर्क

मंगलबार, ०३ असार २०७६, १५ : २७
प्रतिनिधिसभा बैठक अवरोध : सत्ता पक्ष र विपक्षका आफ्नै तर्क

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताले आआफ्नै तर्क गरेका छन् । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिनुभएको थियो । काङ्ग्रेसले भने सभामुखलाई बिहानै आफ्ना नेताले बोल्नुहुन्छ भनेर समय माग गरे पनि पहिला बोल्न समय नपाएको भन्दै विरोध गरेको जनाएको छ । सोही विषयमा निरन्तर अवरोधपछि आजको बैठक स्थगन गरिएको थियो ।  

सो विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सङ्घीय संसद् भवनबाट बाहिरिने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्षको माग नाजायज भएको टिप्पणी गर्नुभयो ।  नेता नेपालले प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परानुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ, त्यसपछि प्रतिपक्षीेले बोल्न पाउनुपर्छ भन्नुभयो । “सभामुखको रुलिङ पनि त्यही हो, त्यो कुरा पालना नगर्नाले गलत संसदीय नजीर बसाल्न खोजेको देखिन्छ”, उहाँले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आज बिहान सभामुखलाई जनताका समसामयिक आवाजका विषयमा प्रतिपक्षी दलका नेताले बोल्नुहुन्छ भनी समय उपलब्ध गराउन माग गरिए पनि समय नपाइएको बताउनुभयो । 

“सभामुखले जबर्जस्ती प्रधानमन्त्रीलाई बोल्न समय दिनुभयो । हाम्रो दलका नेताले बोलिसकेपछि प्रधानमन्त्रीले बोल्दा सुल्टो पनि हुन्थ्यो र उठेका जनआवाजका विषयका जिज्ञासा सम्बोधन पनि हुन्थे”, प्रमुख सचेतक खाँणले भन्नुभयो । 

सङ्घीय समाजवादी पार्टी नेपालका बाबुराम भट्टराईले भने संसद् बैठक स्थगनका सम्बन्धमा सत्ता र प्रतिपक्ष दुवैको गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गर्नुभयो ।  “प्रतिनिधिसभा भनेको जनता र जनताको हितमा सर्वाेत्तम अभ्यास गर्ने थलो हो । प्रक्रियागत ढङ्गले कसले अघि बोल्ने र कसले पछि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेर फाल्नु जनताको अभिमतको दुरुपयोग हो”, उहाँले भन्नुभयो ।  उहाँले सो घटनाको भत्र्सनासमेत गर्नुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस