काँग्रेसको अभियानमा एउटा गुटले अर्को गुटको खुट्टा तान्ने, कुरा काट्ने र खुइल्याउने काम

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०७६, १६ : ०१
काँग्रेसको अभियानमा एउटा गुटले अर्को गुटको खुट्टा तान्ने, कुरा काट्ने र खुइल्याउने काम

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार विरुद्ध जनमत बनाउने लक्ष्यका साथ देशव्यापीरुपमा सञ्चालन गरेको जागरण अभियानको पहिलो चरण पूरा भएको छ । लक्ष्य जे भए पनि वास्तविकतामा भने यो अभियान काँग्रेसभित्रको एउटा गुटले अर्को गुटको खुट्टा तान्ने, एउटाले अर्कोको कुरा काट्ने तथा एकले अर्कोलाई खुइल्याउने अभियान बनेको छ । 
राष्ट्रिय जागरण अभियान नाम दिइएको काँग्रेसको कार्यक्रम गुटको बिस्तार र गुटगत मानसिकतालाई अझ प्रश्रय दिन केन्द्रित बन्यो । संस्थापन पक्षका नेताहरुले विपक्षी रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षका कोही कसैलाई पनि ढिम्कन नै नदिने प्रवृत्ति देखाए । उनीहरु रामचन्द्र र सिटौलाले काँग्रेस सिध्याए भन्दै यिनीहरुलाई तह लगाउनुपर्ने जस्ता तर्क गर्दै सार्वजनिक रुपमा नै आरोप प्रत्यारोपमा उत्रने गरेका छन् । 
विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको समयमा भोगेको पेलाई बिर्सेर काँग्रेस सभापति शेरबहादुर देउवाले फरक मत राख्ने सबैलाई ठेगान नै लगाएर छाड्ने मानसिकताका साथ काम गरिरहेको पाइएको छ । जिल्लागत जागरण अभियानमा फरक विचारलाई सम्मान गर्नुको साटो वरपर नै पर्न नदिने तथा कुनै पनि सक्रिय सहभागिताका लागि समेत संलग्न नै हुन नदिने अवस्था समेत पैदा भएको छ । 
काँग्रेसको जागण अभियानमा खटिएका सभापति देउवा पक्षका डा. प्रकाशशरण महतले रामचन्द्र र सिटौलालाई तह नलगाउँदासम्म काँग्रेसमा नयाँ जागरण आउनै नसक्ने भन्ने तर्क गरे । उनले काँग्रेसका धमिरा भनेकै सिटौला र पौडेल भएकाले उनीहरुलाई भने र मागे अनुसारको व्यवहार गर्न नसकिने समेत बताए । 
उनले त्यसो भनिरहँदा उपसभापति समेत काँग्रेस नेता विमलेन्द्र निधिले समेत पार्टीभित्र खोइरो लागेको र त्यसको शिघ्र निदान नभए काँग्रेस काँग्रेसजस्तो नहुने भन्दै फरक विचार र राजनीतिको गला रेट्ने नै धम्की दिए । उनले अनावश्यक रुपमा फरक मतको नाममा अराजकतालाई संरक्षण गरेकाले सभापतिलाई नै अधिकार सम्पन्न गराउनुपर्ने धारणा राखे । 
प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति केन्द्रिकरण गरी अधिनायकवादी भएको बताउने काँग्रेसको उपसभापतिले प्रधानमन्त्रीलाई लगाएको आरोप विपरित सभापतिलाई नैै शक्तिशाली बनाउनुपर्ने भन्ने जस्तो गैरलोकतान्त्रिक चरित्र र पद्दतिको किन चर्चा गरे भन्ने पनि आमचासोको विषय बनेको छ । निधिले लोकतन्त्रको नाममा लोकतान्त्रिक पार्टी भित्र बसेर पार्टी नै सिध्याउने खेलमा लाग्नेलाई समेत कारवाहीको दायरामा ल्याउने दाबी गरे । 
देउवा पक्षले त यतिसम्म गरेको छ कि पौडेल र सिटौला पक्षमा रहेका भनिएका पुराना काँग्रेसी नेतालाई समेत अपमान नै गरेका छन् । उनीहरुलाई सार्वजनिक रुपमा सम्मान गर्ने सामान्य शिष्टाचारलाई समेत भूलेका छन् । यस्तै सार्वजनिक खपतका लागि सरकारको विरोध गर्ने तथा अधिनायकवादी भएको आरोप लगाउने भन्दा काँग्रेसको जागरण अभियानले कुनै माखो मार्न सकेको छैन । भारतमा भारतीय जनता पार्टीको विकल्प नदेखिए जस्तै नेपालको हकमा पनि सत्तारुढ दलको विकल्प करिब नदेखिएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । किनकी काँग्रेसमा सुधारको कुनै गुन्जायस नै छैन । 
मुलुकलाई बोक्ने नेता आफूमात्रै भएको गफ दिने गगन थापा र काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको दाउपेच पनि कम्ता रोचक देखिएको छैन । तँभन्दा म के कम शैलीमा गगनले शर्मालाई देखाइदिने भन्दै धम्की दिएका छन् । यस्तै विश्वप्रकाशले पनि शक्ति केन्द्रको उक्साहटमा उचालिने प्रवृत्तिले काम नगर्ने भन्दै गगनको सातो लिएका छन् । 
त्यसो त गगन थापा शक्ति केन्द्रको उक्साहटमा उचालिने र उनीहरुको स्वार्थ अनुसार हिँड्ने पात्र नै हुन् । आफ्नो निर्वाचन क्षेत्रमा सामान्यभन्दा सामान्य काम समेत गराउन सक्ने क्षमता नभएका थापालाई केही सञ्चारमाध्यम र केही कथित बौद्धिक समुदायले उचालेका भरमा उनी नेता कहिलएको उनको आलोचकहरु बताउँछन् । काँग्रेसीहरुले आदर्श ठानेकाहरु नै एक आपसमा भिड्न थालेपछि कसलाई के चाहियो र आलोचना गर्न ? भनेजस्तै भएको छ । 
काँग्रेसभित्र प्रदीप पौडेलहरु विश्वप्रकाशलाई खुइल्याउनतिर लागेका छन् । राजनीतिकको नाममा जागरण अभियान लिएर जनता र कार्यकर्ता माझ गएको भनिएको काँग्रेस एक आपसमा नै भिडेर यदुवंशी संस्कार पनि देखाइरहेका छन् । उनीहरुले भन्दै आएको लोकतन्त्र र प्रजातन्त्रको मूल्य र मान्यता विपरीत रहेको छ । 
काँग्रेसको जागरण अभियान नाम दिइएको गुट भेलामा पौडेल र सिटौला पक्षको भने सहभागिता कम रहेको छ । उनीहरुले देउवालाई देखाइदिने र आगामी महाधिवेशनमा खास हैसियत पत्ता लाग्ने भन्दै आन्तरिक तयारी गरेका छन् । त्यसमा शेखर कोइरालाहरुले पनि साथ दिएका छन् । कोइराला खान्दानको साख राख्ने भन्दै उनीहरुले कित शेखर, कित शशांकमध्ये एकलाई अगाडि सार्ने तयारी गरेका छन् । त्यसो हुँदा १७ पटक प्रधानमन्त्रीमा हारेका रामचन्द्र पौडेलहरु सिधै फेज आउट हुने अवस्थामा पुग्ने छन् । त्यसबाट अन्ततः फाइदा देउवा गुटलाई नै हुने देखिन्छ । 
जनतालाई एकत्रित गर्न र संविधान कार्यान्वयन गराउने संकल्पलाई छाडेर काँग्रेसले जुन खालको अलोकतान्त्रिक व्यवहार देखाएको छ त्यसले उसको हित त गर्दैन, त्योभन्दा बढी देश र जनताको समेत हित गर्न सक्दैन । काँग्रेसले आजसम्म पनि बुझ्न नसकेको यर्थाथता भनेको उसले जुन खालको चरित्र नेपाली राजनीतिमा देखाएको छ त्यसले सामान्यतया भन्दै आएका सिद्धान्त र व्यवहारलाई पनि प्रतिनिधित्व गर्न सक्दैन । 

प्रतिक्रिया दिनुहोस