पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद नभई जनताको जनवाद भएको अध्यक्ष प्रचण्डको भनाइ

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०७६, १४ : ०५
पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद नभई जनताको जनवाद भएको अध्यक्ष प्रचण्डको भनाइ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारिक कार्यक्रम जनताको बहुदलीय जनवाद नभई जनताको जनवाद भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बिहान जनयुद्धका सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच जनताको जनवादका विषयमा सहमति भएको र यही नै पार्टीको कार्यक्रम भएको दाबी गरेका हुन् ।
सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी एकतापछि पनि पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद नै भएको दाबी गर्दै आएका थिए । उनले एकतापछि पूर्वएमालेले लिएको कार्यक्रममा कुनै भिन्नता नआएको भन्दै बहुदलीय जनवाद नै पार्टीको कार्यक्रम भएको बताउँदै आएका थिए । अध्यक्ष प्रचण्डले नेता पोखरेलतर्फ संकेत गर्दै ‘जनताको जनवाद’ बुझ्न नसकेर कन्फ्युज भइरहेको बताएका हुन् । 
‘पार्टीको कार्यक्रम जनताको जनवाद होइन भन्नेहरु पार्टीको कार्यक्रम बुझ्न नसकेर ‘कन्फ्युज’ भइरहेछन्’ उनले भने, ‘कसैले बुझे पनि नबुझे पनि पार्टी यही कार्यक्रमका साथ अगाडि बढ्छ । दुई अध्यक्षका बीचमा यही सहमति भएको हो ।’ उनले पार्टी एकता सिद्धान्तहीन ढंगले नगरेको दावी गरे । माक्सवादकै पथप्रदर्शनमा समाजवादी बाटोमा अगाडि बढ्ने उद्देश्यका साथ भएको दाबी गरे ।
‘जनताको जनवादको कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासतिर लैजाने प्रस्ट लक्ष्यका साथ हामीले पार्टी एकता गरेका छौँ’, अध्यक्ष प्रचण्डले भने, ‘कतिपयले यो लक्ष्यलाई राम्रोसँग नबुझेर कन्फ्युज हुनसक्ने पनि हुन्छ ।’

प्रतिक्रिया दिनुहोस