गुठी विधेकबाट पछि हटे प्रधानमन्त्री ओली, परिमार्जन गर्न भूमिमन्त्रीलाई निर्देशन

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०७६, १३ : १५
गुठी विधेकबाट पछि हटे प्रधानमन्त्री ओली, परिमार्जन गर्न भूमिमन्त्रीलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक परिमार्जन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सोमबार भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्याललाई राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक परिमार्जन गर्न निर्देशन दिएका हुन । 

गुठीसम्बन्धी कानुन बनाउन राष्ट्रिय सभामा दर्ता भएको यो विधेयककोे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँगै अन्य राजनीतिक दल, विभिन्न संघसंस्था र पूर्व राजा ज्ञानेन्द्र शाहले समेत चासो देखाएर विरोध गर्नुका साथै विधेयककै कारण सरकार नै ढाल्ने चेतावनीसमेत दिन दिएपछि सरकार पछि हट्न बाध्य बनेको हो ।

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्रीले आवाश्यक परामर्शपछि गुठी विधेयक परिमार्जन गर्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्री आफैले ‘इनिसिएसन’ लिएर समस्या समाधान गर्नतर्फ लाग्नुभएकोले अब यो समस्याको विषय न रहनने स्रोतको दावी छ ।

गत बैशाख १६ गते भुमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालले राज गुठी, निजी गुठी र सार्वजनिक गुठीलाई व्यवस्थित गर्न विद्यमान गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् ।

उक्त विधेयकको चौतर्फी विरोध र आलोचना बढ्दै गएपछि प्रधानमन्त्री ओलीले यो सरकारले जनताको मन दुख्ने गरी विधेयक नल्याइने बताएका थिए । आफू देश बाहिर भएका बेला गुठी विधेयकको विरोधमा भएको आन्दोलनलाई नियालिरहेका प्रधानमन्त्री ओलीले युरोप भ्रमणबाट फर्कने क्रममै त्रिभुवन विमानस्थलमा गल्ती भए सच्चाउन तयार रहेको सन्देश दिएका थिए ।
 

प्रतिक्रिया दिनुहोस