गुठी विधेयक फिर्ता लिन माग गर्दै स्थानीयवासी आन्दोलित

सरकारले लिच्छविकालदेखि चल्दै आएको धर्म, संस्कृति एवं सनातन परम्परा मास्न लागेको आरोप

आइतबार, ०१ असार २०७६, १९ : ११
गुठी विधेयक फिर्ता लिन माग गर्दै स्थानीयवासी आन्दोलित

काठमाडौँ । गुठी विधेयकको विरोधमा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं पौराणिक शहर साँखु र गोकर्ण देशेका स्थानीयवासी आन्दोलित भएका छन् ।

गुठी विधेयकले लिच्छविकालदेखि चल्दै आएको धर्म, संस्कृति एवं सनातन परम्परा मासिने भन्दै स्थानीयवासी आन्दोलनमा उत्रेका हुन् । साँखुमा निस्किएको ¥याली नगर परिक्रमा गरेको थियो । स्थानीयवासीले सयौँ वर्षअघि देखिको परम्परा मास्न नहुने भन्दै विधेयक फिर्ता लिन माग गरेको लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले बताउनुभयो ।

साँखुमा माधवनारायण, बज्रयोगिनी, सदावर्तलगायत निजीस्तरबाट खुलेका समेत गरी ३० भन्दा बढी गुठी छन् । सदावर्त गुठीले जोरपाटीभन्दा माथिका पाटी निर्माण गरी बास बस्न आउनेलाई एक माना चामललगायत एक रातका लागि व्यवस्था गर्ने गरेको थियो । यो परम्परा हाल बन्द भए पनि पाटी भने यथावत् छन् । जसबाट ठाउँको नामकरण भएको छ ।

यसैगरी गोकर्णेश्वर नगरपालिका–४ को ऐतिहासिक मानदेवकालीन बस्ती गोकर्ण देशेमा भएको प्रदर्शनमा पनि सयौँ स्थानीयवासी सहभागी भएका थिए । यहाँ गोकर्णेश्वर महादेव, कान्तिभैरवलगायत गुठी छन् । ती गुठी जग्गाका आधारमा यहाँका मन्दिरमा पूजाआजा एवं जात्रा पर्वका साथै रैरकमीलाई खान्गीको व्यवस्था भइरहेको स्थानीयवासी गोपाल श्रेष्ठले बताउनुभयो ।

गोकर्ण देशेबाट जोरपाटीसम्म प्रदर्शन गरेका स्थानीयवासीले चोकमा कोणसभाको आयोजना गर्दै धर्म, संस्कृति विरोधी विधेयक फिर्ता लिन माग गरे । उपत्यका वरपरका ऐतिहासिक शहरमा पनि विधेयकको विरोधमा प्रदर्शन शुरु भएको छ । सांस्कृतिक झाँकी एवं बाजागाजासहित स्थानीयवासीले प्रदर्शन गरेका थिए । (रासस)

 

प्रतिक्रिया दिनुहोस