प्रहरी महानिरीक्षक खनालमाथि गृह मन्त्रालयको गोप्य छानबिन

सफल खबर संवाददाता

सोमबार, २० जेठ २०७६, १४ : ०२
प्रहरी महानिरीक्षक खनालमाथि गृह मन्त्रालयको गोप्य छानबिन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिमस्टेक सुरक्षा प्रमुख बैठकमा नेपालको परराष्ट्र नीति विपरित कार्य गरेको विषयमा गृह मन्त्रालयले गोप्यरुपमा छानबिन कार्य अघि बढाएको छ। छानबिनका क्रममा प्रहरी महानिरीक्षक खनालसँगै बैंकक गएका प्रतिनिधिमण्डल अन्य सदस्यसँग सोधपुछ गरिएको छ।

२०७५ चैत ७ गते बैंककमा बिमस्टेक राष्ट्रका राष्ट्रिय सुरक्षा प्रमुखहरुको बैठक भएको थियो । रणनीतिक महत्वको सो बैठकमा नेपालबाट महानिरीक्षक खनाल नेतृत्वमा ४ सदस्यीय प्रतिनिधिमण्डल सहभागी थियो । प्रतिनिधिमण्डलमा सशस्त्रका डिआइजी खड्ग राई, राष्ट्रिय अनुसन्धान विभागका डिआइजी लक्ष्मण गुरुङ र परराष्ट्रका एक अधिकृत सहभागी थिए । 

बैठकमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पाकिस्तानलाई आतंकवादी भन्नपर्ने एउटा प्रस्ताव अघि सारेका थिए। नेपालको परराष्ट्र नीतिविपरित आएको सो प्रस्तावलाई आइजीपी खनालले अनुमोदन गरिदिएका थिए। बैठकमा सहभागी थाइल्यान्ड र श्रीलंकाका प्रतिनिधिहरु यो विषय कुटनीतिक रुपमा गलत हुने भन्दै विपक्षमा उभिएका थिए।

वैशाखको तेस्रो साता ढाकास्थित बिमस्टेक सचिवालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै बैठकले पारित गरेका प्रस्तावहरु सरकारको अंग बनाउन पत्राचार गरेपछि परराष्ट्र अधिकारी झस्किएका थिए। काठमाडौंस्थित पाकिस्तानी दूतावासले अनौपचारिक चासो व्यक्त गरेको थियो। त्यसपछि बैंकक बैठकबारे गृहले आइजीपी खनालसँग अनौपचारिक रुपमा सोधपुछ गरेको छ।

गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव प्रेम राईबीच समेत यो विषयमा छलफल भएको स्रोत बताउँछ । 
दक्षिण एशियाका नेपाल र पाकिस्तान सन् १९६० देखि मित्रराष्ट्र मुलुक हुन्। नेपालका लागि कुटनीतिक सम्बन्धका दृष्टिले पाकिस्तान भारत जत्तिकै मित्रराष्ट्र हो। भारतको स्वार्थमा पाकिस्तानलाई आतंकवादी भन्नु नेपालको राष्ट्रिय नीतिविरुद्ध हो । आइजीपी खनालले राष्ट्रको परराष्ट्र नीति उल्लंघन गर्दै राखेको मत सरकारको अंग बनाउन पत्र आएपछि अप्ठ्यारोमा परेको सरकारले छानिबन अघि बढाएको थियो ।

महानिरीक्षकलाई भारत भ्रमणको निम्ता
नेपालको राष्ट्रिय नीतिविरुद्ध अजित डोभालको प्रस्तावमा समर्थन जनाएको विषयमा अनुसन्धान भइरहँदा वैशाखको अन्तिम साता बिनाउद्देश्य भारत भ्रमणको निमन्त्रणा आएको छ। सो निमन्त्रणा परराष्ट्र हुँदै स्वीकृतिका लागि गृह मन्त्रालय पुगेको हो। उता बाघ कराउनु र यता बाख्रो हराउनुजस्तै गरी आइजीपी खनाललाई भारत सरकारले बिनाउद्देश्य भ्रमण निमन्त्रणा पठाएको विषयले गृह अधिकारीहरु थप सशंकित भएका छन्।

भारत सरकारले आइजीपी खनाललाई बोलाएको लिखित निमन्त्रणा नेपालस्थित भारतीय राजदूत मञ्जिव सिंह पुरीले परराष्ट्रमार्फत् गृह मन्त्रालयमा पठाएका हुन्। भारतीय दूतावासले आइजीपी खनाललाई भारत पठाइदिन गृहबाहेकका शक्ति केन्द्रहरुमा समेत लबिङ गरिरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस