अझै पनि उसको निरंकुश शासन शैली कायमै छ : नवराज सिलवाल

मंगलबार, ०९ माघ २०७४, १० : २३
अझै पनि उसको निरंकुश शासन शैली कायमै छ : नवराज सिलवाल

चितवन । प्रहरीले खोजी गरिरहेका नेकपा एमालेका सांसद नवराज सिलवालले अझै पनि सरकारको निरंकुश शासन शैली कायम रहेको बताएका छन् ।
आफूविरुद्ध नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सिलवालले भनेका छन्,

कानूनको शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसकेका छन् । अझै पनि उसको निरंकुश शासन शैली कायमै छ ।

कार्यसम्पादन मूल्यांकनमा किर्ते प्रकरणा आफूविरुद्ध प्रतिशोध साँध्न शक्तिको गलत प्रयोग भइरहेकोे बताउँदै आएका सिलवालले यसबिरुद्ध डटेर सामना गर्ने बताउँदै आएका छन् ।

‘सिलवाल नेपालबाहिर रहेको’ ठहरसहित नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी हुने भएपछि केही दिनअघि सिलवालले भाइबरमार्फत पत्रकारलाई फोन गरेर आफू ललितपुरको भट्टेडाँडामा प्रहरी अधिकारीसँगै रहेको सनसनीपूर्ण बयान दिएका थिए ।
लगत्तै एक्सनमा आएको प्रहरीले माघ सात गते डिएसपी नहकुल पोखरेलको कमाण्डमा सिलवाललाई खोज्न १६५ जनाको प्रहरी फौज भट्टेडाँडा पठाएको थियो । तर, सिलवाल हात नलागेपछि प्रहरीले सोमबार डिफ्युजन नोटिस जारी गरेको थियो ।
नेकपा एमालेले पनि सिलवालमाथि प्रतिशोधको आधारमा डिफ्युजन नोटिस जारी भएको बताएको छ । पार्टीको स्थायी समितिले सांसद सिलवालविरुद्ध पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित  भएर क्रियाकलापहरु भइरहेको बताउँदै सरकारलाई यस्ता गतिविधि बन्द गर्न चेतावनी दिएको छ  ।

प्रतिक्रिया दिनुहोस