Safal Khabar - विश्वकप २०२२ मा ४८ टोली बनाउने सपना पुरा हुन सकेन
बुधबार, ११ असार २०७६ (Wednesday, 26 June, 2019)
विश्वकप २०२२ मा ४८ टोली बनाउने सपना पुरा हुन सकेन
बिहिबार, ०९ जेठ २०७६, ११ : ५७
विश्वकप २०२२ मा ४८ टोली बनाउने सपना पुरा हुन सकेन

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्व कप फुटबलमा ३२ टोलीको मात्र सहभागिता रहने विश्व फुटबल महासंघ (फिफा) ले जनाएको छ ।

फिफाले सहभागी टोली कतारबाटै बढाएर ४८ पुर्याउने प्रयास गरेपनि गल्फ राष्ट्रबीच देखिएको राजनितिक टक्रावका कारण सहभागी संख्या बढाउन गाह्रो भएको फिफाले उल्लेख गरेको छ । मध्यपूर्वी गल्फ क्षेत्रमा अहिले राजनीतिक परिस्थिति बिग्रिएको छ । कतारले मात्र ४८ टोली र सर्मथकको चापलाई धान्न नसक्ने देखिएपछि फिफा ३२ टोलीकै निरन्तरतामा पुगेको हो ।  फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतारले मानव अधिकार, श्रमसम्बन्धि कुनैपनि समस्याविना आवश्यक ब्यवस्थापन गरेर विश्वकप आयोजा गर्ने विश्वास ब्यक्त गरेका छन् ।

कतारमा सहभागी टोली संख्या बढाउँदा कम्तिमा १६ खेल कतार बाहिर खेलाउनुपर्ने अवस्था देखिएको थियो । हाल कतारको छिमेकी गल्फ राष्ट्रसँग सम्बन्ध त्यति राम्रो छैन । यूएई, बहराइन र साउदी अरेबियालाई सहआयोजकको रुपमा लिएर सहभागी संख्या बढाउने फिफाको योजना गल्फ राष्ट्रबीच चिसिएको सम्बन्धका कारण विफल भएको हो ।

कुवेतले आयोजनाको इच्छा देखाएपनि त्यहाँको रंगशाला निर्माण र तयारीको लागि समय अभाव हुने निश्कर्ष पनि फिफाले निकालको छ । ओमानले आयोजना गर्ने इच्छानै देखाएन । सन् २०२६ को विश्वकपमा भने सहभागी देश ४८ नै हुनेछ । सन् २०१८ को रुस विश्वकपमा भएको फिफा कंग्रेसले २०२६ मा ४८ टोलीको सहभागिता पक्का गरेको थियो । उक्त कंग्रेसमा भएको निर्वाचनबाट आयोजनाको अधिकार अमेरिका, क्यानडा र म्याक्सिकोले पाएका थिए ।
 

प्रतिक्रिया दिनुहोस