मत सर्वेक्षण भन्छ : भारतमा फेरि पनि मोदी सरकार !

एजेन्सी

सोमबार, ०६ जेठ २०७६, ०७ : २६
मत सर्वेक्षण भन्छ : भारतमा फेरि पनि मोदी सरकार !

एजेन्सी । सात चरण लगाएर सम्पन्न भएको भारतको लोकसभा चुनावमा फेरि पनि सत्तारुढ दल भारतीय जनता पार्टीले नै सरकार चलाउने गरी जनमत प्राप्त गर्ने मत सर्वेक्षणहरु सार्वजनिक भएको छ ।

मतदान सकिएसँगै विभिन्न सञ्चारमाध्यम र संस्थाहरूले गरेको मत सर्वेक्षणका नतिजाअनुसार, फेरि पनि भारतमा नरेन्द्र मोदी नै प्रधानमन्त्री वन्ने प्रक्षेपण हुन थालेको छ ।
स्न २०१४ मा बहुमत ल्याएको भारतीय जनता पार्टीको गठबन्धन नेशनल डेमोक्रयाटिक अलाइन्स (एनडिए)ले नै यसपालि पनि बहुमत ल्याउने सम्भावना सर्वेक्षणहरुले देखाएका छन् ।

एनडिएमा भाजपासँगै शिव सेना, शिरोमणि अकाली दल, लोक जनशक्ति पार्टीलगायत पार्टी छन् । पाँच वर्षअघि भाजपाले २६७ सिट पाएको थियो भने गठबन्धनले २८२ सिट जितेको थियो । त्यतिबेला कंग्रेस आई ४४ सिटमा खुम्चिएको थियो । कंग्रेसले बनाएको युनाइटेड प्रोग्रेसिभ अलाइन्सले ६९ सिट पाएको थियो ।
अघिल्लो चुनावमा हर हर मोदी घर घर मोदीको लहर ल्याएको भाजपाले यसपालि ‘फिर एकबार मोदी सरकार’को नारा दिएको थियो ।

कतिपयले मोदी सरकारले गरेका वाचा पु‍रा गर्न नसकेको, विकासमा  डेलिभर गर्न नसकेको र नोटबन्दीका कारण जनतालाई दुःख दिएकाले सत्तामा दोहोरिन उनलाई हम्मेहम्मे पर्न सक्ने विश्लेषण भएका थिए । काग्रेस आईले राम्रो स्थानमा जित निकाल्ने अनुमान पनि निर्वाचन पूर्व गरिएका थिए ।

भारतको निर्वाचनको मत परिणाम ९ जेठसम्म आईसक्ने अनुमान लगाईएको छ । ५ सय ४२ सिट मध्ये उत्तर प्रदेशमा मात्र ८० सिट छ । गत निर्वाचनमा भारतीय जनता पार्टीले ८० मध्ये ७१ सिट जितेको थियो ।

भारतीय टेलिभिजन च्यानल एनडिटिभीले यसपटक बिजेपीले उत्तर प्रदेशमा १६ सिट गुमाउने अनुमान गरेको छ । अघिल्लो पटक ७१ सिट जितेको बिजेपीले ५५ सिट जित्ने एनडिटिभीको मत सर्वेक्षणले देखाएको छ । अर्थात् बिजेपी नै उत्तर प्रदेशमा सबैभन्दा ठूलो पार्टी हुनेछ।  भारतीय कांग्रेसले यसपटक पनि २ सिट मात्र जित्ने सर्वेक्षणमा उल्लेख छ । सन् २०१४ को चुनावमा पनि कांग्रेसले दुई सिटमै चित्त बुझाउनु परेको थियो ।

जबकी बिएसपी र एसपी गठबन्धनले २३ सिट प्राप्त गर्ने देखाएको छ । बाँकी सिट बिएसपी र एसपीले प्राप्त गर्नेछन् । त्यो बिजेपीको खाताबाट घट्नेछ ।
टाइम्स नाउको सर्वेक्षणले त्यहाँ भाजपाले ५८, कंग्रेसले २ र  बहुजन समाजवादी गठबन्धनले २० सिट ल्याउने देखाएको छ । एबिपीको सर्वेक्षणले भने भाजपा २२, कंग्रेस २ र गठबन्धनको ५६ सिट आउने देखाएको छ । जनकी बातको सर्वेक्षणमा भाजपाको ५३, कंग्रेसको ३ र गठबन्धनको २४ सिट आउने देखिएको छ ।
४२ सिट भएको पश्चिम बंगालमा भाजपा एक्लैले पनि केही सिट बढाउने देखिएको छ ।  त्यहाँ अहिले तृणमूल कंग्रेस पार्टीले प्रदेश सरकार चलाइरहेको छ । यसपालिको लोकसभा चुनावमा पनि यहाँ तृणमूल कंग्रेस नै पहिलो पार्टी हुने सम्भावना देखाएको छ । विभिन्न मत सर्वेक्षणले तृणमूल कंग्रेसले २४ देखि २८ सिट जित्ने देखाएका छन् भने भाजपाले दोस्रो बढी सिट पाउने देखिएको छ ।
पाँच वर्षअघि तृणमूल कंग्रेसले यहाँ ३४ सिट हात पारेको थियो भने कंग्रेसल ४ र भाजपाले जम्मा २ सिट हात पारेको थियो ।
टाइम्स नाउका अनुसार पश्चिम बंगालमा भाजपाले ११ सिट जित्ने देखाएको छ भने कंग्रेसले जम्मा दुई सिट पाउने सम्भावना छ ।

सी भोटरको मत सर्वेक्षणले पनि यस्तै नतिजा देखाएको छ । उसको सर्वेक्षणअनुसार भाजपा ११, कंग्रेस दुई र अन्य दलले २९ सिट जित्न सक्छन् । जनकी बातका अनुसार त्यहाँ भाजपाले २२, कांग्रेसले ३ र अन्य दलले १७ सिट जित्ने देखाएको छ । सिएनएक्सको सर्वेक्षणले भने भाजपाको १४, कंग्रेसको २ र अन्यलाई २६ सिट हात पर्ने जनाएको छ ।  निलसनका अनुसार भाजपाले १६, कंग्रेसले २ र अन्यले २४ सिट पाउने सम्भावना छ ।

महाराष्ट्रमा लोकसभाका ४८ सिट छन् । २०१४ मा त्यहाँ शिव सेना र भाजपा ४१ सिट जितेका थिए  । यसपालि पनि उनीहरूले ३६ सिटसम्म जित्ने मत सर्वेक्षण देखिएको  छ ।  सी भोटरका अनुसार त्यहाँ एनडिएले ४३ र कंग्रेसको युपिए गठबन्धनले १४ सिट जित्न सक्छन् ।
भारतीय लोकसभा चुनावमा बिहारका ४० सिटका लागि ७ चरणमा भएको चुनावमा आइतबार ८ सिटका लागि चुनाव भएको थियो ।

नेपालको सीमासँग जोडिएकाले विहारको मत सर्वेक्षणमा नेपालीको समेत चासो छ । बिहारमा ४० लोकसभा सिट छन् । २०१४ को चुनावमा त्यहाँ २२ सिट भारतीय जनता पार्टीले जितेको थियो ।  कंग्रेसले २ सिटमात्र पाएको थियो ।
अहिले भने भारतीय जनता पार्टीले विहारका मुख्यमन्त्री नितिशकुमारको पार्टी जनता दलसँग चुनावी गठबन्धन गरेको छ भने कंग्रेस आईले पनि अन्य पार्टीहरूसँग गठबन्धन गरेको छ ।

आजतकका अनुसार, भाजपाको गठबन्धन एनडिएले बिहारमा ३८ सिट जित्ने छ । कांग्रेसको गठबन्धन युपीएले भने जम्मा २ सिट ल्याउने देखिएको छ ।

त्यस्तै एनडिटिभीले गरेको मत सर्वेक्षणले भने बिजेपी र एनडीएलाई ३० सिट र कांग्रेस र आरजेडीको गठबन्धनलाई ११ सिट मिल्ने देखाउँछ ।
 
त्यस्तै  एबीपी निल्सनलको एक्जिट पोलकाअनुसार  एनडीएले ३४ र यूपीएले जम्मा ६ भोट ल्याउने छ । सी भोटरले भने एनडीएले  ३३ र यूपिए  ७ सिट जित्ने छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा लोकसभाको २६ सिटमध्ये २४ सिट भारतीय जनता पार्टीले जित्ने अनुमान गरिएको छ ।

भारतमा आइतबार मतदान सकिएपछि विभिन्न संस्थाले मत सर्वेक्षण सार्वजनिक गरिराखेका छन्। एबीपी न्युजका अनुसार गुजरातमा २ सिट मात्रै कांग्रेसले जित्ने अनुमान छ ।
लोकसभा सिटको आधारमा भारतको निर्वाचनमा प्रभावित पार्ने पाँच राज्य मध्ये एक तमिलनाडूमा लोकसभाको ३९ सिट छ।

भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को चुनावमा तमिलनाडूमा मात्र एक सिट जित्न सफल भएको थियो । तर यसपटक तमिलनाडूमा सिट बढाउन भाजपाले गठबन्धन गरेको छ  । उसले तीन क्षेत्रीय पार्टीहरू गठबन्धन गरेको छ। अर्कोतर्फ भारतीय कांग्रेसले पनि त्यहाँ चार वटा क्षेत्रीय पार्टीसँग गठबन्धन गरेको छ । राष्ट्रिय पार्टीका रूपमा रहेका भाजपा र कांग्रेस दुबै तमिलमा प्रभावहीन छन् ।

यसपटक तमिलनाडूको ३९ मध्ये ३८ सिटमा मात्र निर्वाचन भएको छ  । वेल्लोरको निर्वाचन रद्द भएको छ। इण्डिया टुडे गुप्रले गरेको मत सर्वेक्षणमा ३८ मध्ये ३४ सिटमा कांग्रेस गठबन्धनले बाजी मार्ने देखिन्छ । बिजेपी गठबन्धनले बाँकी चार सिट जित्ने सर्वेक्षणले देखाएको छ  ।

न्युज अइटिनले गरेको सर्वेक्षणमा भने ३८ मध्ये २२ देखि २४ सिटमा मात्र कांग्रेस गठबन्धनले जित्ने देखाइएको छ । बाँकी १४ देखि १६ सिटमा भारतीय जनता पार्टी सम्मिलित गठबन्धनले जित हात पार्ने दावी गरिएको छ । गठबन्धनमा भाजपाका उम्मेद्वारले बढीमा दुई सिट र कांग्रेसका उम्मेद्वारले बढीमा ५ सिट जित्ने सर्वेक्षणले देखाएको छ ।

त्यस्तै चानक्य न्यूज ट्वान्टीफोरले बिजेपी गठबन्धनले ६ सिट कांग्रेस गठबन्धनले ३१ सिट जित्ने अनुमान लगाएको छ । अन्य दलले एक सिट जित्न सक्ने आंकलन उक्त टेलिभिजनले गरेको छ ।

रिपब्लिक सि भोटर मत सर्वेक्षणले कांग्रेस गठबन्धनले २७ सिट र भारतीय जनता पार्टीको गठबन्धनले ११ सिट जित्ने दावी गरेको छ । टाइम्स नावले कांग्रेस गठबन्धनले २९ सिट र ९ सिट भारतीय जनता पार्टीको गठबन्धनले जित्ने दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस