धम्कीपछि एक पत्रकारको हत्या

एजेन्सी

शुक्रबार, ०३ जेठ २०७६, १९ : २५
धम्कीपछि एक पत्रकारको हत्या

मेक्सिको । मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो । 

हत्या हुनु अगाडी उहाँलाई धम्की आएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका अनुसन्धानकर्ताहरुले जारी गरेको वक्तव्यमा अनुसन्धान जारी रहेको उल्लेख छ । 

पत्रकार फ्रान्सीस्को रोमेरो डिजको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । उहाँको शव पनि ल्याइसकिएको प्रहरीको भनाई छ । 
अनुसन्धानकर्ताहरुले पत्ता लगाएको विवरण अनुसार उहाँलाई गत अप्रिल १२ तारिखका दिन धम्की आएको थियो । सो कुरा उहाँले आफ्ना सहकर्मीहरुलाई बताउनु भएको थियो ।

स्थानीय समयानुसार उहाँको शव विहान ६ बजेतिर ‘ला गोट्टा’ नामक बारको बाहिर भेटिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  

अधिकारीहरुले घटनास्थलमा गोली हानेर उहाँको हत्या गरेको जस्तो रगत र चोटहरु देखिएको जानकारी दिएका छन् । 
अहिले हत्या गरिएका रोमेरो डिजसँगै सन् २०१९ को शुरुबाट अहिलेसम्ममा मेक्सिकोमा कम्तीमा पाँच पत्रकारको हत्या भईसकेको छ ।(रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस