२०७५ लाई फर्केर हेर्दा

यस्ता चर्चित व्यक्ति देशले गुमायो, जसलाई नेपालीले सदैव सम्झिनेछन्

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०७५, १३ : ४८
यस्ता चर्चित व्यक्ति देशले गुमायो, जसलाई नेपालीले सदैव सम्झिनेछन्

चितवन । २०७५ को पात्रो फेरिन अब केही घन्टामात्र बाँकी छ । भोलि आइतवारदेखि विक्रम संवत् २०७६ सुरु हुँदैछ । २०७५ साललाई फर्केर हेर्दा देशले यस्ता होनाहार व्यक्ति गुमाएको छ, जो आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाल र नेपालीको लागि ठूलो योगदान गरेका छन् । गुमाएका चर्चित व्यक्तिमध्ये पहिलो नं मा आउँछन्, बहालवाला रविन्द्र अधिकारी । जसलको हेलिकप्टर दुर्घटनामा निधन भयो । 
गएको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बहालवाला मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको ज्यान गयो । तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा मन्त्री अधिकारी सहित देशका प्रतिष्ठित व्यापारी आङछिरिङ शेर्पाको पनि निधन भयो ।
पछिल्ला तीनवटा निर्वाचनमा कास्कीबाट प्रत्यक्ष निर्वाचित अधिकारी नेकपाको नयाँ पुस्ताका उदीयमान नेता थिए । सोही हेलिकप्टरमा नागरिक उड्यन क्षेत्रका वरिष्ठ अधिकारी र नेपालको राजनीतिक नृतृत्वसँग सम्बन्ध बनाएका व्यवसायी शेर्पाको निधन भयो । यति एयरलाइन्स, हिमालय एयरलाइन्स, गोकर्ण रिर्सोट लगायत व्यापारिक प्रतिष्ठानका प्रमुख शेर्पा नेपालको पर्यटन क्षेत्रका टाइकुन मानिन्थे ।
उक्त दुर्घटनामा अधिकारी र शेर्पाका अलावा प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र  क्याप्टेन प्रभाकर केसीको निधन भयो ।
यस्तै, नेकपा नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको फागुन १८ गते शनिवार निधन भयो । फोक्सो र मुटुसम्बन्धी समस्याबाट पीडित  अधिकारीको धुम्बाराहीस्थित हेम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । २०५१ सालको कम्युनिष्ट सरकारका अर्थमन्त्री रहेका अधिकारी आफ्नो गाउँ आफै बनाउँ लगायत लोकप्रिय कार्यक्रमका योजनाकार थिए ।
यसैगरी पुस ३ गते पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भयो । लामो समयदेखि कलेजोसम्बन्धी रोगका कारण कमजोर बनेका गिरीको ९३ वर्षको उमेरमा निधन भयो ।
राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रूपमा चिनिन्थे । ०५९ सालमा पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनीले मन्त्रिपरिषद्को उपाध्यक्ष बनेर पूर्वराजा ज्ञानेन्द्रलाई साथ दिएका थिए ।
वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको असार ४ गते निधन भयो । पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका देवकोटाले नेपालमा जटिल खालका अप्रेसन गरेका थिए ।
मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको कात्तिक १८ गते मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भयो । तुलाधर २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको कम्युनिष्ट सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री थिए । उनी २०४२ सालमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवार समेत थिए । 

 

प्रतिक्रिया दिनुहोस