स्वर्गीय ज्ञानु केसी दाहालको स्मृतिमा वृद्धवृद्धालाई भोजन

दिदीको पाँचौं वार्षिक पुण्यतिथिमा बहिनी रेनुले पस्किइन् वृद्धवृद्धालाई खाना

सफल खबर संवाददाता

बुधबार, १३ चैत्र २०७५, १४ : ४४
दिदीको पाँचौं वार्षिक पुण्यतिथिमा बहिनी रेनुले पस्किइन् वृद्धवृद्धालाई खाना

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १, देवघाटधामस्थित रोटरी करुणालयको प्रांगणमा बुधबार बिहान महानगर प्रमुख रेनु दाहाल वृद्धवृद्धालाई थालमा भात पस्कँदै गरेको भेटिनु भयो । महानगर प्रमुख दाहालले आफ्नी दिदी स्वर्गीय ज्ञानु केसी दाहालको पाँचौं वार्षिक पुण्यतिथिको अवसरमा ४० जना वृद्धवृद्धालाई खाना पस्कनु भयो । वृद्धवृद्धालाई भोजन गराउने कार्यक्रम स्वर्गीय ज्ञानुका पति अर्जुन केसीले तय गर्नु भएको थियो ।

महानगर प्रमुख दाहालले आफ्नी दिदी ज्ञानुको स्मरण गर्दै देवघाटधाममा वृद्धवृद्धालाई खाना खुवाएर दिदीप्रति सम्मान व्यक्त गरेको बताउनु भयो । उहाँले दिदी ज्ञानुको स्मरणमा हरेक बर्ष विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउँदै यसपटक रोटरी करूणालयमा आश्रय लिएर बस्नु भएका बुबाआमाहरूलाई खाना खुवाएको बताउनुभयो । महानगर प्रमुख दाहालले पस्केको खाना खान पाउँदा वृद्धवृद्धाहरु दंग परेका थिए । वृद्धवृद्धाले खाना खानुभन्दा अघि स्वर्गीय ज्ञानुका ससुरा इश्वरीप्रसाद केसी र भरतपुर महानगर प्रमुख रेनु दाहालको हातबाट फलफूल ग्रहण गरेका थिए ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी ज्ञानु दाहालको ४० बर्षको उमेरमा क्यासन्सर रोगको कारण २०७० साल चैत १३ गते निधन भएको  थियो । स्व. ज्ञानु दाहालको पाँचौं वार्षिक तिथिको अवसरमा आयोजित फलफूल तथा भोजन वितरण कार्यक्रममा स्व. दाहालका ससुरा इश्वरीप्रसाद केसी, बहिनीज्वाइँ अनिलकुमार पाठक लगायतको सहभागिता रहेको थियो । करूणालयका संयोजक चन्द्रमान श्रेष्ठ, सचिव उत्तमलाल चुके  लगायतले स्वर्गीय दाहालको स्मरण गर्दै रोटरी करूणालयको बारेमा जानकारी गराउनु भएको थियो ।

रोटरी करुणालयमा रोटरियन तथा चन्दादाताहरूको सहयोगमा ३३ जना वृद्धवृद्धाले आवासीय रूपमा रहेका छन् । यहाँ दैनिक सय जना जतिले बिहान र बेलुका निःशुल्करुपमा सात्विक खाना खाने गरेका छन् । करूणालय १८ बर्षदेखि संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस