अभिनयमै ६० वर्ष बिताउने ‘कान्छी’ का ‘बा’

सफल खबर संवाददाता

शनिबार, २६ माघ २०७५, १३ : २७
अभिनयमै ६० वर्ष बिताउने ‘कान्छी’ का ‘बा’

चितवन । कुनै क्षेत्रमा कसैले २० वर्ष बिताउनु ठूलो कुरो होइन, ४० वर्षलाई पनि अचम्म मान्नु नपर्ला तर ६० वर्ष एउटै क्षेत्रमा जीवन बिताउनु चानचुने कुरो पक्कै होइन । कलाकार ऋद्धिचरण श्रेष्ठले अभिनयमै ६० वसन्त कटाएका छन् ।
भरतपुर–१, पुतलीबजारस्थित घर पुग्दा सम्मानपत्रले ढाकिएको भित्तामुनि बसिरहेका थिए कलाकार श्रेष्ठ । विभिन्न संघसंस्थाबाट पाएका दर्जनौँ सम्मानपत्रले नै आज कलाकार श्रेष्ठको मन पुलकित भइरहेको छ । २०१५ सालमा जब उनी १५ वर्षका भए, त्यतिबेलादेखि नै उनको अभिनयको यात्रा सुरु भयो । यो यात्रामा कहाँसम्म पुगिन्छ, उनलाई पनि त्यतिबेला कुनै भेउ थिएन । आज उनलाई लाग्छ, जुन यात्रामा हिँडियो, यही यात्राले नै अभिनेता बनायो, समाजमा चिनायो, जुन यात्रा अझै जारी छ ।
अभिनयको भूत कसरी चल्यो, उनले त्यति धेरै भेउ नै पाउँदैनन् । यतिमात्र भन्छन्, ‘रुची अभिनयमै थियो, कहाँ पुगिन्छ थाहा थिएन, सहपाठीहरुले नै अभिनयमा ल्याए । अभिनयका अनेकौँ घुम्ती पार गर्न सिकायो, आफूले पनि सिकियो । लगावले नै अभिनेता बनायो ।’
बुबा भवानीचरण श्रेष्ठको सरकारी जागिर । उसबेलाका डिठ्ठा साहेब भनेपछि दस गाउँमा सम्मान पाइने । नौ डाँडापारिसम्म चिनिने । डिठ्ठा साहेबको छोरा भनेपछि त सबैजना हुरुक्कै । जहाँजहाँ बुबाको सरुवा हुन्थ्यो, उनी त्यहीँ त्यहीँ पुग्थे । पढाइ पनि सँगसँगै । पाल्पामा उदाएका श्रेष्ठले देशका विभिन्न माटोमा टेक्दै चितवनलाई नै कर्म थलो बनाए । चितवनको माटोमा अभिनय तिखारे । सिकाई त कहिले पो पूरा हुन्छ, त्यतिबेला हुन्छ, जतिबेला ऊ चितामा पुगेको हुन्छ । श्रेष्ठको अभिनय यात्रामा सिक्ने र सिकाउने काम जारी छ ।


जीवनको पहिलो यात्रा नै अभिनय भने होइन, उनले शिक्षण पेसा सुरु गरेपछि अभिनयलाई अँगालो हालेका हुन् । दुबैलाई सँगसँगै लगे । दुई डुंगामा खुट्टा राखेर भएपनि भँगालो तरे । एकातिर ज्ञानको ज्योति छरिरहेका छन्, अर्कोतिर अभिनयको ज्योति । दुवै ज्योतिमा उत्तिक्कै चमक थियो । २०१५ सालमा नारायणगढ पुतली बजारको एक कठ्ठा जग्गा ५०० रुपैयाँमा किने, त्यहीबेला जागिरको सिलसिलामा रौतहट पुगेका श्रेष्ठको पिता खस्नुभयो ।
विद्यालयमा हुने नृत्यलाई छोड्ने हो भने कलाकार ऋद्धिचरण श्रेष्ठले पहिलो अभिनयको ढोका विजय नाटकबाट भएको हो । नाटकमा उनको खलपात्रको भूमिका थियो । ‘त्यसबेला कहाँ स्टेज हुनु, सडकमै देखाइएको हो विजय नाटक’ उनले भने । त्यसपछि मरभूमि, ईश्वरको न्याय लगायतका दजर्नौ नाटकमा उनले अभिनय गरे । उनलाई नै थाहा छैन, कति नाटकमा अभिनय भयो । उनी भन्छन्, ‘नाटक त कति खेलेँ खेलेँ, सबै सम्झन सकिनँ । फिल्म भने ७० वटाभन्दा धेरै छन् ।’     
‘छोरी तिमीले मैले भनेको मानिनौ भने कहिल्यै यो बूढोलाई बुबा भनेर बोलाउनु पर्दैन’ उनले अभिनय गरेको पहिलो नेपाली कथानक चलचित्र  कान्छीको डाइलग हो । यो डाइलग उनको मानसपटलमा अझै नाचिरहेको छ । कान्छी चलचित्र सुपरहिट भयो । उनको यो चलचित्रबाट नै पर्दाको यात्रा थालनी भयो । यही चलचित्रमा उनलाई एउटा छाप प¥यो – त्यो हो नायिकाको पीडित पिता । कान्छीमा उनले नायिकाको पीडित पिताको अभिनय गरेका थिए, त्यही छापले अन्य चलचित्रमा उनलाई पर्दामा पीडित पिताको भूमिका आउन थाल्यो । आफूले अभिनय गरेका झन्डै आधाजति चलचित्रमा उनलाई नायिकाको पीडित पिताको भूमिकामा देख्न पाइन्छ ।


ऋद्धिचरण श्रेष्ठको जीवन हालसम्म अभिनयमै बितेको छ । नेपाली सिने क्षेत्रमा सफल चरित्र अभिनेताको रूपमा चिनिएका उनी हाल ७५ वर्षको वसन्तमा चढिसकेका छन्, तर पनि अभिनयमा ब्रेक लागेको छैन । पछिल्लो समय उनले निर्मला हत्याकाण्डको विषयमा बनेको कोपिला चलचित्रमा अभिनय गरेका छन् । स्थानीय नेताको भूमिकामा देखिएका छन्  उनी । अहिले यो चलचित्रको सम्पादन भइरहेको छ ।
सन्तान, सुखदुःख, माइली, आगो, मालती, मलाई माफ गरिदेऊ, मनकामना लगायतका चलचित्र उनका सफल चलचित्र हुन् । चितवनमा भएका चलचित्र गतिविधिहरुमा उनी आज पनि सहभागी हुन्छन् । साहित्य कार्यक्रममा भ्याएसम्म पुग्छन् । ‘अभिनयमा पूर्णविराम लागेको छैन’ झन्डै एक घण्टाको बसाइँपछि छुट्टिने बेला उनले भने, ‘अझै पनि नाटक, फिल्म खेल्न सक्छु भन्ने आँट छ ।’

 

प्रतिक्रिया दिनुहोस