आगामी वैशाखमा सातौं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता हुने

सफल खबर संवाददाता

मंगलबार, २२ माघ २०७५, १९ : १३
आगामी वैशाखमा सातौं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता हुने

काठमाडौं । आगामी वैशाख २० र २१ गते ‘सातौं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोस्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६’ प्रतियोगिता हुने भएको छ ।
मंगलबार काठमाडौंमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

प्रतियोगितामा जम्मा  ६ वटा वजन समूह खेलाइने आयोजकले जनाएको छ । जसमा ५५, ६०, ६५, ७०, ७५ तथा ७५ भन्दा माथि वजन भएका समूहबीच प्रतिस्पर्धा गराइने छ ।

एउटा संघबाट एउटा वजन समूहमा बढीमा २ जना खेलाडीहरू गरी जम्मा १२ जना खेलाडी र १ जना टिम म्यानेजरले प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ । त्यस्तै, शारीरिक सुगठनको विधा अन्तर्गत हुने दोस्रो पुरुष फिटनेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगितालाई खुला उचाइ समूह अन्तर्गत खेलाइनेछ ।

प्रत्येक समूहमा प्रथम, द्वितीय, तृतीय खेलाडीलाई क्रमश स् २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार दिइनेछ । यसका साथै मिष्टर हिमालय उपाधि पाउने एक जनाले २  लाख ७५ हजार रकम पाउनेछ  । प्रतियोगिताको अनुमानित बजेट करिब २० लाख हुने आयोजकले अनुमान गरेको छ ।
यो प्रतियोगिता प्रत्येक २-२ वर्षमा आयोजना हुने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस