निःशुल्क कृत्रिम खुट्टा : आशलाग्दो जीवन जिउन पाउँदा मन चङ्गा

सफल खबर संवाददाता

विहीबार, ०३ माघ २०७५, १६ : ५७
निःशुल्क कृत्रिम खुट्टा : आशलाग्दो जीवन जिउन पाउँदा मन चङ्गा

नवलपुर । कावासोती नगरपालिका वडा नं ८ का पीताम्बर कुँवरलाई आफ्नो देब्रे खुट्टा गुम्दा अब जीवन नै बर्बाद भएजस्तो लागेको थियो । 
तर उहाँ अब अरु मान्छे सरह नै आशलाग्दो जीवन जिउन सक्ने हुनुभएको छ । २२ वर्ष पुगेका कुँवरले आठ वर्ष छँदा दुर्घटनामा परेर देब्रे खुट्टा गुमाउनु परेको थियो । 
उहाँले आज कृत्रिम खुट्टा हालेर अरु मान्छे सरह हिँडिरहनुभएको छ । नवलपुरको गैंडाकोट नगरपालिका ४ मा रहेको सहज सामुदायिक अस्पतालमा उहाँले कृत्रिम खुट्टा पाएपछि सफल खबरसँग भन्नुभयो, ‘खुट्टा नहुँदा जीवन नै बर्बाद भएजस्तो महसुुस भएको थियो, तर आज पुनर्जन्म पाएको अनुभव भएको छ ।’  
उहाँमात्र होइनन् सहज सामुदायिक अस्पतालबाट महिला पुरुष गरी ११ जना खुट्टा नभएका व्यक्तिहरुले निःशुल्क खुट्टा पाएका छन् । उहाँ सबैलाई कृत्रिम खुट्टा वरदान सरह भएको छ । उहाँहरुले कृत्रिम खुट्टाले अबको जीवन सहज हुने बताउनुभयो । 

खुट्टा नभएकाहरुलाई कृत्रिम खुट्टा निःशुल्क वितरण गर्ने काम चौधरी फाउन्डेसनले गरेको हो । दुर्घटना वा अन्य कुनै पनि कारण खुट्टा गुमाएका नागरिकहरू यसबाट लाभान्वित भएका छन् । 
गैंडाकोटको सहज सामुदायिक अस्पतालमा कृत्रिम खुट्टा जडान शिविरको आयोजना नै गरेर चौधरी फाउन्डेसनले खुट्टा वितरण गरेको हो । ७ जना प्राविधिक र एकजना अर्थोपेडिक डाक्टरले दुई घण्टामा कृत्रिम खुट्टा तयार पार्छन् । खुट्टा नभएकाहरु कृत्रिम खुट्टा हालेर सहजै हिँडेर आफ्नो गन्तव्यतर्फ जान सकेका छन् ।
शिविरको चौधरी फाउन्डेशनका अध्यक्ष विनोद चौधरीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, ‘मानव सेवा आफ्नो व्यवसायको अभिन्न अंग हो ।’ उहाँले व्यवसायिक सफलताका लागि समाजबाट आफूले धेरै कुरा प्राप्त गरेको र अब आफ्नो जिम्मेवारी समाजलाई फिर्ता गर्नु रहेको बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘नवलपुरको सहज सामुदायिक अस्पताललाई विगलांगहरुलाई सेवा दिने अस्पतालको रुपमा विकास गर्न म लाग्नेछु ।’ अध्यक्ष चौधरीले भन्नुभयो, ‘अहिले म व्यवसाय भन्दा सामाजिक सेवाका कामहरूलाई प्राथमिकतामा राखेको छु । कृत्रिम खुट्टा उपलब्ध गराउने यो अभियान त्यसैको परिणाम हो ।’
उहाँका अनुसार खुट्टा नहुँदाको पीडा कस्तो हुन्छ, भन्ने मलाई राम्रोसँग थाहा छ, त्यसैले त्यो पीडाबाट मुक्त गर्न निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको हो । 

सरकारको साथ पाएमा आफूले दिगो रुपमा यो कार्यक्रम नेपालमा सञ्चालन गर्ने र सेवा आवश्यक रहेका सम्पूर्ण नागरिकलाई यो सेवा उपलब्ध गराउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभएको थियो । 
‘खुट्टा गुमाएका व्यक्ति हिँडडुल गर्न नसक्ने मात्रै होइन । उसको सारा जीवन नै समस्याबाट गुज्रिएको हुन्छ’ अध्यक्ष चौधरीले भन्नुभयो, ‘उसका लागि खुट्टा पाउनु भनेको जीवनलाई नै उज्यालो बाटोमा प्रवेश गराउनु हो ।’
चौधरी फाउण्डेसनले भगवान महावीर विकलाङ्ग सहायता समिति (जयपुर फुट्स) सँगको सहकार्यमा नेपालमा कृत्रिम खुट्टा वितरण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । चौधरी फाउण्डेसनले पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा र दोस्रो चरणमा सहज सामुदायिक अस्पतालमा माघ ३ गतेदेखि निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको हो । 
गैंडाकोटको शिविर ४५ दिनसम्म चल्ने चौधरी फाउन्डेशनका प्रतिनिधि अशेष बरालले बताउनुभयो । उहाँले काठमाडौँमा नर्भिकमा भएको ३ दिने शिविरमा ५२ जनाले निःशुल्क कृत्रिम खुट्टा पाएका बताउनुभयो । उहाँले भन्नुभयो, ‘नवलपुरमा ५०० जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गर्ने लक्ष्य छ ।’
जयपुर फुट्स विश्वकै सबैभन्दा ठूलो कृत्रिम खुट्टा उपलब्ध गराउने संस्था हो । यो विश्वव्यापी रुपमा प्रतिष्ठित संस्था पनि हो । अमेरिकी टाइम म्यागेजिनले यस संस्थाको सेवालाई विश्वकै उत्कृष्ट सेवा प्रदान गर्ने संस्थाका रुपमा अवार्ड गरेको थियो । एक तथ्यांकअनुसार नेपालमा करिब एक लाख मानिसलाई कृत्रिम खुट्टाको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस