लोकसंगीतमा नाम धुमधाम, जीवनशैली गुमनाम

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०७५, १६ : ०९
लोकसंगीतमा नाम धुमधाम, जीवनशैली गुमनाम

काठमाडौं । अहिले धेरैको जिब्रोमा झुण्डिन सफल लोकदोहोरी गीत बन्यो, सालको पातको टपरी हुने ... । यो गीतले युट्युबमा डेढ करोड भ्युज पाएको अवसरमा गत साता काठमाडौंमा सेलिब्रेसन कार्यक्रम गरियो । उक्त कार्यक्रममा गायक कुलेन्द्र विश्वकर्मालगायत टिम नै सहभागी भयो, तर यस गीतकी गायिका विष्णु माझी भने काठमाडौंमै रहेर पनि उपस्थित भइनन् ।

आयोजकले गायिका विष्णु माझीलाई खबर गरेको तर विशेष कारणवश आउन नसकेको बताए । सालको पातको सेलिब्रेसनमा मात्र नभई विष्णु माझी डेढ दशकयता कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएकी छैनन् । डेढ दशकको लोकसंगीतको यात्रामा शिखर चढिरहेकी विष्णु माझी रहस्यमयी गायिका बनेकी छिन् । लोकसंगीतको क्षेत्रमा नाम धुमधाम भएपनि उनको जीवनशैली भने गुमनाम छ ।

जीवनको तीन दशक काटिसकेकी गायिका विष्णु माझी लोकसंगीतमा लागेको डेढ दशकमध्ये सुरुवाती दिनका एक, दुई कार्यक्रममा सार्वजनिक भइन् । त्यसपछि उनी पूरै भूमिगत छिन् । गाडीमा स्टुडियोमा गएर पर्दा लगाएर गीत रेकर्ड गराउने माझीको फोटो कसैले खिच्न पाउँदैन । गाडीबाट झरेर स्टुडियोसम्म पुग्दा समेत मुख छोपेर हिँड्ने माझी फोन सम्पर्कबाट पनि टाढा छिन् । उनी मिडियाको सामु आउँदिनन् । मोबाइल बोक्दिनन् । फेसबुक एकाउण्ट पनि छैन । आफू वरपरको समाजबाट टाढा विष्णु माझीलाई सामाजिक सञ्जालमा भेट्टाउन सकिँदैन ।

१२ वर्षअघि पोखराका लोकगायक सुन्दरमणि अधिकारीसँग बुटवलबाट काठमाडौं छिरेकी विष्णु माझी त्यही वर्ष चर्चित लोकगायिका बन्न सफल भइन् । काठमाडौंमा अधिकारीसँग लिभिङ टुगेदर बसेर नौ वर्ष बिताएपछि चार वर्षअघि उनीहरुले बिहे गरेको भनिएपनि अहिलेसम्म बिहेको फोटोसमेत सार्वजनिक भएको छैन । माझीका श्रीमान् भनिएका अधिकारी म्युजिक भिडियो खेल्ने, गीत गाउने गर्छन् । विष्णु माझीले गीत गाएवापत पाउने पारिश्रमिक समेत अधिकारीले नै लिने गरेको र उनैले विष्णुलाई घरबाहिर सार्वजनिक हुन नदिएको आरोप लाग्दै आएको छ । काठमाडौंमा उनीहरु कहाँ बस्छन् भन्ने धेरैलाई थाहै छैन ।

स्याङ्जाको चापाकोट गाउँमा गरीब परिवारमा जन्मिएकी विष्णु माझीले पाँच कक्षाभन्दा बढी पढ्न पाइनन् । उनको स्वरले उनलाई नाम त दियो, तर उनी अहिले पनि गुमनाम जीवन बाँचिरहेकी छिन् । रोबोटजस्तै बनेकी छिन् उनी । मुख छोपेर स्टुडियोमा गयो, पर्दा लगाएर गीत रेकर्ड गरायो, मुख छोपेरै सुटुक्क घर आयो । यही हो उनको दिनचर्या । विष्णु माझीलाई चिन्नेहरुका अनुसार, गीत रेकर्ड गर्न स्टुडियोमा जाँदा भेट भएकाहरुसँग पनि सामान्य हाई, हेल्लोभन्दा बढी कुराकानी हुँदैन उनको । विष्णुका श्रीमान सुन्दरमणिले उनलाई घरमै बन्धकजस्तो, कैदीजस्तो बनाएको चर्चा सामाजिक सञ्जालमा हुने गरेको छ ।

साढे चार वर्षअघि (२०७१ साल साउन) गायक, संगीतकार तथा गीतकार बादल घिमिरेले फेसबुकमा पोस्ट गरेको एउटा स्टाटसले लोकसंगीतको क्षेत्रमा तरंग नै ल्याएको थियो । उनको स्टाटसले पनि गायिका विष्णु माझीको जीवन रहस्यमयी भएको उजागर गरेको छ । घिमिरेले फेसबुकमा पोस्ट गरेको स्टाटस यस्तो छ,

लगभग तीन बर्षको अन्तरालपछि पुन: गायिका विष्णु माझीको बारेमा केही लेख्दैछु | बिष्णुको बारेमा आवाज उठाए वापत् यो भन्दा अगाडी मलाई अपरिचितबाट ज्यान मार्ने धम्की आएको थियो तर यसपटक पनि जीवनलाई अचानोमा राखेरै भए पनि हिम्मत जुटाएको छु |

चर्चित लोक गायिका विष्णु माझी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका (साविक रत्नपुर ) काली नदीको किनार खोरियाघाटमा जन्मेकी हुन् |जुन स्थान वरिपरि गायक कलाकार भगवान भण्डारी , बद्री पंगेनी , एकनारायण भण्डारी ,रूपक डोटेल , रामजी खाँण आदि जन्मिएको भूमि हो |मेरो घरबाट विष्णुको घर पुग्न लगभग पन्ध्र मिनेटको दुरी पर्छ | विष्णुको बारे पछिल्लो समयमा सञ्चार माध्यममा आवाज उठ्न थालेको छ | म चाहन्छु यथार्थ वाहिर आओस् र विष्णुले बाँकी जिन्दगी भूमिगत रूपमा बिताउन नपरोस् |

एक दशक अगाडी (ठ्याक्कै साल भूलेँ ) बुटवल महोत्सवबाट विष्णुको जादुयी स्वर सुनेर सुन्दरमणी अधिकारीले गायिका बनाउँछु भनेर विष्णुलाई काठमाण्डौँका लागि रात्रीबस चढाएका थिए | आज विष्णु यो देशकी महंगी र चर्चित गायिका त बनिन् तर सुन्दरमणीले चढाएको विष्णुको जिन्दगीको रात्रीबस कहाँ पुग्यो कसैलाई पत्तो छैन - लाग्छ विष्णु स्वयं अनभिज्ञ छन् |

विष्णुको स्वर नसुन्ने त यो देशमा बिरलै होलान् तर विष्णुको भूमिगत जिन्दगीको बारेमा कमैलाई थाह होला | देशकै चर्चित गायिका कुनै सञ्चार माध्यममा छाउँदिनन् न त देश विदेशको कन्सर्टमै देखा पर्छिन् | न उनीसंग आफ्नो घर छ न एउटा मोबाइल | आखिर विष्णुलाई यस्तो कस्ले बनायो ? उत्तर : सुन्दरमणी अधिकारीले | विष्णु गीत गाँउछिन् - सुन्दरमणी पैसा बुझ्छन् | विष्णुको जिन्दगीको रिमोट सुन्दरको हातमा छ | लाग्छ विष्णुले श्वास फेर्न पनि अनुमति सुन्दरकै लिनुपर्छ |

हुन त केही बर्ष अगि सुन्दरले विष्णुलाई बिहे गरे भन्ने सुनियो तर बिष्णुले गाएर कमाएको करोडौँ पैसासंग गरे बिष्णुसंग थाह भएन | आफ्नै श्रीमतीलाई भूमिगत शैलीमा बाँच्न विवश तुल्याउने अधिकार श्रीमानलाई हुन्छ ? विष्णु सुन्दरमणीको नजरबन्दमा छिन् - उनको अवस्था के छ कसैलाई थाह छैन | न त उनका पिता तारा माझीलाई थाह छ न दाजु बाबुराम माझीलाई नै | गीत त गाउँछिन् अझै पनि तर रोबोट शैलीमा | रिमोट सुन्दरको हातमा छ |

अन्तमा : विष्णुको बारेमा यथार्थ बाहिर किन ल्याउँदैनन् यो देशका पत्रकारहरू ? रेखा थापाको पाइन्ट एक इन्च तल झरे हेडलाइन खबर बनाउने पत्रकार महोदयहरू किन चुपचाप छन् ? डन चरी मारिँदा सदन अवरूध्द गराउने दलहरू के गरिरहेका छन् ? यो देशमा महिला अधिकारकर्मी छन् कि छैनन् ? छन् भने कहाँ रत्यौली खेलेर बसिरहका छन् ? हामी सम्पूर्ण संगीतप्रेमीहरूलाई एकमुष्ट जवाफ चाहियो |

प्रतिक्रिया दिनुहोस