दुई युवाको उद्यमी शुत्र : जागिर खाने त कहिल्यै कल्पना गरेनौँँ

बाबु कृषभ

सोमबार, १६ पुस २०७५, १३ : ०१
दुई युवाको उद्यमी शुत्र : जागिर खाने त कहिल्यै कल्पना गरेनौँँ

चितवन । ‘पत्रिकामा विज्ञापन देखेर ‘एप्लाइ’ गर्न जाने युवाहरुको ताँती देखेर उनी दङ्ग पर्थे । मानिसहरु जागिर खानकै लागि किन भौतारिएका होलान्, किन उद्यमतर्फ युवाको सोच छैन भन्ने विषयलाई लिएर नारायणगढ लंकूका उनै सन्तोष कँडेल अहिलेसम्म पनि घोत्लीरहन्छन् ।   
२८ वर्षका कँडेलले आफूसँग पढ्ने साथीहरु काठमाडौँका गल्लीगल्लीमा जागिरको लागि भौंताएिका देख्दा सोध्ने गर्थे, ‘किन तपाइँहरु उद्यम बन्न खोज्नुभएको छैन, आफ्नो दिमागबाट ‘जागिर’ भन्ने शव्द हटाइदिनुहोस् । ‘उद्यम’ भन्ने शव्द दिमागमा कैद गर्नुहोस् ।’ 
साथीहरुले उनलाई उद्यम बन्न पैसा चाहिन्छ, हामीसँग पैसा छैन भन्ने जवाफ दिन्थे । जति रकमको जोहो गर्छन्, त्यति रकमबाट उद्यम गर्न सकिने उपायहरु पनि उनले दिन्थे । केहीले गरे पनि, केही अझै जागिरको खोजीमा भौंतारिरहेका छन् । 
शैक्षिक योग्यताको प्रमाणपत्र झोलामा राखेर जागिरको लागि काठमाडौँमा महिनौँ भौतारिएका साथीहरुलाई कँडेलले उद्यम बन्ने सही सुझावहरु दिन्थे । तर आफू भने कुनै उद्यम चलाएका थिएनन् । ‘जागिर त खाने नै होइन, उद्यम गर्ने हो’ साथीभाइ र परिवारलाई उनी यही भन्थे । उनको सोच नै उद्यम बन्ने थियो । जतिबेला उनी पढाइलाई अगाडि बढाइरहेका थिए । 
उनी भन्छन्, ‘पढेपछि जागिर नै खानुपर्छ भन्ने सोच हटाउनुपर्छ । तर त्यो सोच नहटेर नै शैक्षिक बेरोजगारको थुप्रो लागेको हो ।’ पढाइअनुसारको जागिर नपाउने,  सानोतिनो जागिर पढेलेखेकाले नखाने यही कारणले शैक्षिक बेरोजगार बढिरहेको उनी बताउँछन् । 
‘नेपालीहरु अधिकांश जागिर खाने मानसिकता बढी बोकेको छन्, उद्यम बन्ने मानसिकता कम छ’ उनले भने, ‘यो अत्यन्तै गलत हो, देश अगाडि बढ्न धेरैको उद्यम बन्ने सोच हुनुपर्छ, जागिर खाने थोरै हुनुपर्छ ।’
अरुलाई उद्यम गर भन्ने तर आफू भने केही नगरिरहेको अवस्था । उनलाई पनि केही उद्यम त गर्नैपर्छ भन्ने भुटभुटी चलिरहेको थियो । 

पढ्नको लागि चीन
सन्तोष कँडेललाई पढ्नको लागि चाइना जाने अवसर मिल्यो । उनी चाइना गए, होटल म्यानेजमेन्ट पढ्न । त्यहाँ उनले नारायणगढ, काठमाडौँमा जस्तो जागिर खोज्दै हिँड्ने मान्छे कोही नै भेटेनन् । सबैसँग आफ्नोआफ्नो सीप, सबैसँग कुनै न कुनै उद्यम । 
कँडेलले चीनलाई नजिकबाट हेरे । कोही जागिर खोज्दै हिँडेका मान्छे नै देखेनन् उनले त्यहाँ । खाजा खानाको लागि मानिसहरु होटल रेष्टुरेन्टहरुमा कमै जान्थे । सबैले घरमै खाजा खाना मगाउँथेँ । कति सजिलो ! जे खाना मन लाग्यो, घरमै आउने । यस्तो दृष्य उनले चीनमा देखेपछि यसको सिको गर्ने सोच मनमा पलायो । 
अचम्म लाग्थ्यो, चीनमा यस्तो देख्दा कँडेललाई । चीनको उद्यमी कला उनले सिके । पढाइ भ्याए । अनि फर्के आफ्नो देश । अरुलाई उद्यम गर्नुपर्छ भन्ने सल्लाह दिने कँडेल अब कस्तो उद्यम गर्ने भन्ने सोचले पिरोलिन थाले । 
उनका साथी जस्तै थिए ठूली आमाको छोरा सुशील सापकोटा । उनी भरतपुरमै बसेर पढे । पढाइ सकियो । आफ्ना भाइ पर्ने सुशीललाई उनले भने, ‘तेरो पढाइ सकियो हेर भाइ, जागिर खोज्नतर्फ लाग्ने होइन, केही उद्यम गर्नुपर्छ ।’ भाइ सुशीलले भन्यो, ‘हुन्छ, उद्यमको कुनै सोच बनाउनु भएको छ त ?’
त्यसपछि कँडेलले भाइलाई चीनमा देखेको कुरा सुनाए । उनले मानिसहरु खाजा खानाको लागि होटल रेष्टुरेन्ट जानै नपर्ने अवस्था सिर्जना गराउने सोच रहेको सुनाए भाइलाई । भाइले सुरुमा पत्याएनन्, ‘सम्भव छैन’ उनले भने । उनले चीनका मानिसहरु रेष्टुरेन्ट र होटलका खाना घरमै मगाएर खाएका तस्बिरहरु भाइलाई देखाए । 
‘उद्यम भनेको सोच हो, सोचलाई फराकिलो बनाए जागिर खानैपर्दैन’ कँडेल भन्छन्, ‘यो सोचले जन्मायो– मेरो किनमेल । 

के हो मेरो किनमेल ?
तपाइँलाई खाजा खान मन लाग्यो, होटल रेष्टुरेन्टहरु जान मन लागेको छैन भने तपाइँ मेरो किनमेलमा खबर गर्न सक्नुहुन्छ । खबर गरेको केही मिनेटमा नै खाजा तपाइँको घरमै आइपुग्छ । मेरो किनमेल एउटा फुड डेलिभरि गर्ने कम्पनी हो । जसले घरघरमा खाना खाजा पु¥याउने काम गर्छ । यही मेरो किनमेलका परिकल्पनाकार हुन्– सन्तोष कँडेल । 
‘मेरो किनमेल डट कम’ले खाजा खाना घर अफिससम्म लाने काम गर्छ’ यस कम्पनीका प्रबन्ध निर्देशकसमेत रहेका कँडेलले भने, ‘आफूले रोजेको रेष्टुरेन्टको मनपरेको खाना, खाजा घरमै बसेर खान सक्नुहुन्छ ।’ 
खाना, खाजा फोनकै भरमा घरघरमा उपलव्ध गराउने यस्तो खालको कम्पनी चितवनमै पहिलो भएको कँडेल दावी गर्छन् । उनी भन्छन्, ‘हामीले अर्डर गरेको भरमा आफूले रोजेको होटल रेष्टुरेन्टकै खाना, खाजा घर अफिसमा लैजान्छौँ ।’ 
उनका अनुसार होटल रेष्टुरेन्टमा गएर खाजा खाना खाँदा जति पैसा लाग्छ, त्यही पैसामा हामी घर अफिसमा खाजा खाना पुराउने गरेका छौँ । चितवन र नवलपुर मेरो किनमेलको क्षेत्र हो । मेरो किनमेलले भरतपुर र नारायणगढमा १५ मिनेटभित्रै खाजा खाना घरमै लैजान्छ । अन्य हकमा दुरी हेरेर आधा एकघण्टा समय लाग्नसक्छ । 
मेरो किनमेलमा अहिले ८ जनाले रोजगारी पाएका छन् । ‘पहिलो त यस्तो काममा घाटा लाग्छ, डुबिन्छ । यस्तो काम नगर’ चिनेजानेकाले यही भन्थे सन्तोष कँडेललाई । पछिल्लो समय धेरै मान्छेहरु मेरो किनमेलको कार्यालयमै आएर ‘धेरै राम्रो गरिस्’ भन्दा खुसीले फुरुङ्ग हुन्छन् कँडेल । 
छिटै मेरो किनमेलले रत्ननगरको टाँडी बजार, नवलपुरको कावासोतीमा पनि शाखा खोल्ने योजना बनाइरहेको छ । सुरुमा दुई युवाहरुले घरबाटै मेरो किनमेल सञ्चालन गरेका थिए, अहिले उनीहरु बेलचोकको सरस्वती कम्प्लेक्सको तेस्रो तलाको फ्ल्याट नै लिएर मेरो किनमेल सञ्चालन गरिरहेका छन् । 
मेरो किनमेल डट कमले भरतपुर र नारायणगढका एक सय बढी होटल रेष्टुरेन्टको खाजा, खाना घर अफिसमा लैजाने गरेको छ । आफूलाई मनपर्ने होटल रेष्टुरेन्टको खाजा खाना छनौट गरी मेरो किनमेलमा फोन गरेर अर्डर गर्न सकिन्छ । 
‘ग्राहकले जुन होटल रेष्टुरेन्टको भन्नुहुन्छ, हामी त्यहीको खाना र खाजाको आइटम घर अफिसरमा पुराउने गरेका छौँ’ मेरो किनमेलका अर्का सञ्चालक सुशील सापकोटाले भने, ‘चितवन र नवलपुरको जुनसुकै कुनामा खाजा, खाना लिएर हामी पुग्न सक्छौँ ।’

३ महिनासम्म अर्डर शून्य 
२०७२ साल असार १ गते मेरो किनमेल डट कम स्थापना गरिएको हो । ‘सुरुमा व्यवसाय कस्तो हुन्छ,  पत्तो भएन । घरबाट सञ्चालन गरेका थियौँ’ प्रबन्ध निर्देशक सन्तोषले भने, ‘३ महिनासम्म एक जनाले पनि अर्डर गरेनन् । हाम्रो प्रचारप्रसार पनि हुन सकेको थिएन । अर्डर शून्य भयो ।’
उनका अनुसार २०७२ असोज १५ गते मधुसूदन सुवेदीले मेरो किनमेलको पहिलो अर्डर गर्नुभएको  थियो । त्यसपछि विस्तारै अर्डर आउन थाल्यो । सुरुमा दुई चार होटलमात्र सम्पर्कमा थिए, अहिले त एक सयभन्दा बढी होटल रेष्टुरेष्टहरु सम्पर्कमा छन् । जहाँको भन्यो, त्यहीँको खाजा खाना लैजान सकिन्छ । 
‘सुरु सुरुमा अर्डर नआउँदा हुँदैन कि भन्ने लागेको थियो, छौडौँजस्तो पनि भएको थियो, तर अहिले दैनिक ८० जनाभन्दा बढीले खाजा खाना अर्डर गरिरहेका छन्’ कँडेलले भने, ‘नाकावन्दी र भूकम्पको समयमा त भाडा तिर्न पनि गाह्रो भएको थियो, तर अहिले ७÷८ जनालाई रोजगार मिलेको छ, आम्दानी बढेको छ । शाखा खोल्ने तयारीमा छौँ ।’
कम्पनीसँग अहिले ४ वटा मोटरसाइकल छ । महिनाको ८ लाख कारोवार भइरहेको छ । मासिक ५० हजार कम्पनीले बचत गरिरहेको छ । ‘अहिले त विदेशबाट पनि अर्डर आइरहेको छ, भरतपुर र नारायणगढका अधिकांश बैंकहरु, सुपर कम्प्लेक्सहरुबाट बढी अर्डर आउँछ ।
अर्डर आउनसाथ तुरुन्त मेरो किनमेलका रोजगारदाताहरु लोकेसन खोज्दै घर अफिसमै पुग्छन्’ सञ्चालक कँडेलले भने, ‘पेय पदार्थ पनि लेजान्छौँ, तातो चिसो के चाहिन्छ, त्यही लजान्छौँ ।’ ग्राहकले पैसा डेलिभरि गर्ने मान्छेलाई वा ईसेवाबाट आईएमईबाट बैंक ट्रान्सफर र कार्ड अन डेलिभरिबाट पनि पेमेन्ट गर्न सक्नेछन् । 


 

प्रतिक्रिया दिनुहोस