इन्धन खपत घटाउन काठमाडौँ महानगरद्वारा ‘कार पुलिङ’ प्रणाली कार्यान्वयन

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०८२, ११ : ५१
इन्धन खपत घटाउन काठमाडौँ महानगरद्वारा ‘कार पुलिङ’ प्रणाली कार्यान्वयन

काठमाडौँ । इन्धन कटौतीपछि काठमाडौँ महानगरपालिकाले आफना अधिकारीहरुका लागि ‘कार पुलिङ’ (सवारी साधन बाँडेर चढ्ने) प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना हुनसक्ने दीर्घकालीन नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको जानकारी दिएकी छन् ।

इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ ’ डंगोलले भनिन् ।

महानगरपालिकाले ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ ।

‘कार पुलिङ्’ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरुको समूह बनाइएको छ ।

यस समूहमा हुनेले आफूसँग भएको सवारी साधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ । यसो गर्दा कार्यालयमा आउने जाने सवारी साधनको संख्या र इन्धनको प्रयोग घट्नेछ ।

प्रतिक्रिया दिनुहोस