नेपाल-बांङ्लादेश वाणिज्य सचिव स्तरीय वार्ता ढाकामा सम्पन्न

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०८२, १६ : ०९
नेपाल-बांङ्लादेश वाणिज्य सचिव स्तरीय वार्ता ढाकामा सम्पन्न

काठमाडौँ । नेपाल र बांङ्लादेशका वाणिज्य सचिव स्तरीय वार्ता मंगलबार र बुधबार ढाकामा सम्पन्न भएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्तिसचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा नेपाली टोलीले सहभागिता जनाएको थियो भने बांङ्लादेशी टोलीको नेतृत्व वाणिज्य सचिव महबुबुर रहमानले गरेका थिए। 

२०२४ अप्रिलमा काठमाडौँमा भएको बैठकपछिको प्रगतिबारे समीक्षा गरिएको जनाइएको छ। सचिव घिमिरेले दुई देशबीचका व्यापार अवरोध घटाउँदै द्विपक्षीय व्यापार सम्बन्ध बढाउन अपरिहार्य भएको बताएका थिए।

उनले व्यापार शुल्कहरू घटाउनुपर्नेमा जोड दिएका थिए। अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुँदै गर्दा क्षेत्रीय र अन्तर्राष्ट्रिय फोरमहरुमा दुवै देशका चाहनालाई प्रवर्द्धनका लागि सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। 

उनका समकक्षी रहमानले व्यापार, लगानी, कनेक्टिभिटी र पर्यटनजस्ता क्षेत्रमा सहकार्यका माध्यमबाट आर्थिक साझेदारीलाई गहन बनाउन मिलेर काम गर्न आवश्यक रहेको उल्लेख गरेका थिए। उनले द्विपक्षीय आर्थिक सहकार्यमा नयाँ अवसर खोज्न यातायात पूर्वाधारको सुधार, भन्सार प्रक्रिया सहज र व्यापार सुविधाका लागि बांङ्लादेश प्रतिबद्ध रहेको उल्लेख गरेका थिए। 

बैठकमा दुवै पक्षले आगामी तीन महिनाभित्र व्यापार सहजीकरण समिति गठन गर्ने सहमति गरेको छ। यसले पीटीए टेक्स्ट र उत्पादनको मूल स्थानसम्बन्धी नियम र उत्पादन सूचीबारे छलफल गर्नेछ। त्यसैगरी दुवै पक्ष व्यापार र लगानीका क्षेत्रमा भन्सार सहजीकरण गर्न, अन्तर्सीमा भुक्तानी सहज पार्न र गैरशुल्क अवरोधका समस्या समाधान गर्न तयार भएका छन्।

प्रतिक्रिया दिनुहोस