एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०८२, १० : १०
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म  हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा तय गरेको छ।

संघको एकता प्रयासपछि गठित स्टेरिङ कमिटीको आइतबार सम्पन्न दोस्रो बैठकले आगामी २०८२ साल फागुन ११, १२ र १३ गते (सन् २०२६ फेब्रुअरी २३, २४ र २५) काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

संघका महासचिवद्वय गौरीराज जोशी र बी.आर. लामाले जारी गरेको विज्ञप्ति अनुसार, स्टेरिङ कमिटीले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मिति घोषणा गरेको हो। बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै सांगठनिक एकता र आन्तरिक व्यवस्थापनका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ।

एकता सहजीकरणका लागि विशेष समिति गठन
राष्ट्रिय समन्वय समिति (एनसीसी) हरू बिचको एकतालाई निष्कर्षमा पुर्‍याउन बैठकले गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी एकता समिती’ गठन गरेको छ। उक्त समितिको सह-संयोजकमा टीका गुरुङ (राधिका) रहेकी छिन् भने सदस्यहरूमा शनि कुमार ओली,नारायण काफ्ले र चिरञ्जीवी खड्का रहेका छन्।

क्षेत्रीय अन्तरक्रिया कार्यक्रम तय
संघले बृहत् एकताको सन्देश विश्वभरका नेपालीमाझ पुर्‍याउन क्षेत्रीय स्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रमहरूको तालिका पनि सार्वजनिक गरेको छ:
डिसेम्बर १९: मध्यपूर्व तथा अफ्रिका क्षेत्र
डिसेम्बर २०: एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र
डिसेम्बर २१: अमेरिकाज तथा युरोप क्षेत्र

अनुशासन र प्रतिवद्धतामा जोड
बैठकले सदस्यता सम्बन्धी समितिलाई ५ बाट बढाएर ७ सदस्यीय बनाउने निर्णय गरेको छ। साथै, अनुशासनलाई कडाइका साथ पालना गराउन स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले आगामी बैठक अगावै प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। तोकिएको समयभित्र हस्ताक्षर नगर्ने सदस्यलाई आगामी बैठकमा सहभागी नगराइने निर्णय समेत भएको छ।

संघले १२औँ महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर छरिएका गैरआवासीय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषदहरू र सरोकारवाला सबै पक्षलाई सहयोगका लागि अपिल गरेको छ। एनआरएनएले अधिवेशनका लागि बिज्ञप्ती जारी गरेपनी अधिवेशन  एनआरएनए डे  अक्टोबरमा नै गर्नुपर्ने बिश्वमा रहेका धेरै एनआरएनए अभियन्ता र गैर आवासीय नेपालीहरुले माग गरेका छन । 

उनिहरुले आगामी महाधिवेसनले एनआरएनएको गिरेको साख उचाल्नुपर्ने भएकाले एनआरएनए  डेमा बृहत् अधिवेसन गरि बिश्वमा रहेका धेरै नेपालीलाई  काठमाडौनै बोलाएर प्रत्यक्ष  निर्वाचन गर्नुपर्ने बताए ।