तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले यसवर्ष रु सात लाखको सयपत्री फूल बिक्री गरेको छ। सामूहिक रूपमा सयपत्री खेती गरेका यहाँका महिलाले पहिलो र दोस्रो टिपाइबाट रु सात लाख बराबरको सयपत्री बिक्री गरेका हुन्।
गत असोज २० देखि कात्तिक ५ गतेसम्म उक्त सयपत्री फूल बिक्री भएको समूहका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन्। यस अवधिमा करिब दुई हजार किलो सयपत्री फूल बिक्री भएको छ। प्रतिकिलो रु ३५० देखि रु चारसम्म फूल बिक्री भएको उनले बताइन्।
फूल बिक्रीका लागि बजारको समस्या नभएको बताउँदै गुरुङले यहाँ उत्पादित फूल आँबुखैरेनी, दमौली, डुम्रे, पोखरा, मुग्लिन, नारायणगढसम्म पुगेको उल्लेख गरिन्। उनले भनिन्, 'पहिलो र दोस्रो चरणको टिपाइबाट दुई हप्ताको अवधिमा रु सात लाख बराबरको फूल बिक्री गर्न सफल भयौँ। फूलले बजार पाउँदा झनै उत्साहित छौँ।'
बारीमा अझै पनि सयपत्री फूल बाँकी रहेको र उक्त फूलहरू आँबुखैरेनीमा शनिबारदेखि एक सातासम्म हुने महायज्ञमा प्रयोग गरिने उनको भनाइ छ। उनले भनिन्, 'तेस्रो र चौथो चरणको टिपाइ छिम्केश्वरी बूढीदेवी महायज्ञ र एकादशी पर्वका लागि बिक्री गरिनेछ।'
पहिलो चरणको टिपाइबाट एक हजार फूलको माला बनाएर दश दिनसम्म चिस्यान केन्द्रमा राखी माग उच्च भएका बेला बिक्री गरिएको थियो। उनले भनिन्, 'यस वर्ष चाँडै फूल फलेकाले चिस्यान केन्द्रमा राखेर जुनबेला माग उच्च हुन्छ त्यही बेला बिक्री गर्ने व्यवस्था मिलाएका थियौँ।'
यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन्। पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए। यो वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पुर्याएको अध्यक्ष गुरुङले बताइन्। समूहमा ४५ जना महिला आबद्ध छन्।
बजारको समस्या नहुने भएपछि समूहमा आबद्ध महिला व्यावसायिक रूपमा फूलखेती लागिरहेको उनको भनाइ छ। गाउँपालिकाले उत्पादित फूलको बजारीकरणमा सघाउँदै आएकाले सहज भएको उनले उल्लेख गरिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ कार्तिक २०८२, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सयपत्री ढकमक्क, बजार खोज्दै किसान
सामूहिक सयपत्री फूलखेतीमा महिला, मूल्य प्रतिकिलो ३ सय
सयपत्रीको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो
गैँडाकोटले सयपत्री फूल जिल्ला बाहिर पठाउँदै
तनहुँको सयपत्री कतार निर्यात
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड