कालीगण्डकी करिडोरमा बर्सेनि पहिरोको दु:ख

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०८२, ०८ : ४८
कालीगण्डकी करिडोरमा बर्सेनि पहिरोको दु:ख

बागलुङ । कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले दुःख दिन थालेको पाँच वर्ष पुग्यो । हरेक बर्खामा एउटै स्थानबाट पहिरो खस्दा सडकमा यातायात अवरुद्ध हुँदै आएको छ । 

यस वर्षको बर्खामा भने बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा ठूलो पहिरो थपिएको छ । उक्त स्थानमा पहिरोले सडकको ५० मिटर ट्रायक नै क्षति पुर्याएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड ठूला चट्टान काटेर सडक स्तरोन्नति गरिएकाले ठूला पहिरो खसिरहेको छ । कालीगण्डकी करिडोरको गैडाकोट–राम्दी–मालढुङ्गा खण्डमा पर्ने २४० किमिमा एक दर्जनभन्दा बढी स्थानमा पहिरोको समस्या रहेको आयोजना कार्यालय पाल्पाका इञ्जिनियर उत्सव बस्यालले बताए । 

गैडाकोट–राम्दी–मालढुङ्गा खण्डमा पर्ने २४० किमि र कालीगण्डकी लोकमार्गको मिर्मि–सेतिवेनी–अर्मादी–कुश्माको ५३ सहित जम्मा २९३ किमि सडक रहेकोमा अहिलेसम्म ८० प्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति सम्पन्न भएको इञ्जिनियर उत्सव बस्यालले बताए । उक्त खण्डमा पहिरो मर्मतमै ८० करोड खर्च लाग्ने अनुमान गरिएको छ । 

आर्थिक वर्ष २०६६/६७ बाट शुरू भएको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य छ । २० अर्ब लागत अनुमान गरिएको उक्त खण्डको ७८० प्रतिशत भौतिक प्रगति सम्पन्न गर्न १४ अर्ब सात करोड खर्च भइसकेको छ । 

अन्तिम चरणमा आएको आयोजनामा चट्टानसहितको पहिरोको चुनौती थपिएको भन्दै पहिरो रोकथामका लागि मात्रै झण्डै ८० करोड खर्च लाग्ने देखिएको उनको भनाइ छ ।
    
'बागलुङमा तीन ठाउँमा पहिरोले सडकको ट्रायाक नै बगाएको छ, पुरानै अवस्थामा फर्काउन ठूलो खर्च लाग्छ, अहिले कालोपत्र सम्पन्न भइसकेको खण्डमा समेत चट्टानसहितको पहिरोले समस्या बनाएको छ, पन्छाउने मात्रै काम भइरहेको छ,' इञ्जिनियर बस्लालले भने, 'अक्करे भीर काटेर बनाइएको सडकमा चट्टानसहितको पहिरो खस्ने काम निरन्तर चलिरहेको छ, बजेट हुँदा साथ पहिरो मर्मततर्फ आयोजनाको ध्यान जान्छ ।'

प्रतिक्रिया दिनुहोस