काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्चको गलत व्याख्याको कारण राष्ट्रपति र उपराष्ट्रपति पदमा महिलाले भाग गुमाएको भन्ने महान्यायाधिवक्ताको टिप्पणी गलत भएको स्पष्ट पारेकी छन् । महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो स्पष्टीकरण दिएकी हुन् ।
उनले संविधान र सर्वोच्चको व्याख्याको कारण सर्वोच्चको फैसलाकै कारण महिलाले अवसर गुमाएको भन्न नमिल्ने बताएकी हुन् । उनले सर्वोच्चले गरेको भाषाको राम्रोसँग अध्ययन गर्न पनि सुझाव दिइन् । उनले संविधान निर्माण प्रक्रियामा आफू पनि संलग्न रहेको उल्लेख गर्दै सभामुख र उपसभामुखमा एक जना महिला भनेर लेखेजस्तै राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला भनेर लेख्ने प्रस्ताव गरेको भए पनि सहमति जुट्न नसकेको बताइन् ।
उनले भनिन्, ‘सर्वोच्च अदालतको व्याख्याकै कारणले राष्ट्रपति र उपराष्ट्रपतिमा महिलाले भाग गुमाइन् भन्ने कुरा गलत हो । महान्यायाधिवक्ताजी तपाईंले हामीले गरेको भाषा हेर्नुपर्यो । म त संविधान लेखनमा संलग्न भएको मान्छे । हामीले त जसरी सभामुख र उपसभामुखमा एक जना महिला भनेर लेखेका छौँ त्यसरी नै राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला भनेर लेखौँ भनेको थिए । होइन फरक लिङ्गको भन्ने कुरा आयो । फरक लिङ्ग भन्नाले त्यहाँ मधेसी पनि हुनसक्छ, दलित पनि हुनसक्छ, आदिवासी पनि हुनसक्छ भन्ने कुरा आयो । पछि सर्वोच्चले व्याख्या गर्दा खेरी महिला भएर नै व्याख्या गर्दा फरक हुन्थ्यो कि ।’
यसअघि महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतको गलत फैसलाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा महिला अधिकार खोसिएको टिप्पणी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, १३ : १६
लेखकबाट थप