प्रदेश नम्बर ७ को राजधानीको दिपायलमा माग गर्दै अनिश्चितकालीन डोटी बन्द

बुधबार, १९ पुस २०७४, १३ : ४२
प्रदेश नम्बर ७ को  राजधानीको दिपायलमा माग गर्दै अनिश्चितकालीन डोटी बन्द

डोटी । प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै अनिश्चितकालीन डोटी बन्दको आव्हान गरिएको छ । बन्दको कारण आज दिपायल,पिपल्ला र सिलगढी बजार पूर्ण रुपमा बन्द हुँदा जनजीवन प्रभावित बनेको छ ।

एकसाता अघिदेखि दिपायललाई प्रदेश राजधानी बनाउनु पर्ने माग गर्दै डोटीबासीले  चरणबद्ध आन्दोलन गर्दै आएका छन् । सरकारले धनगढीलाई प्रदेश ७ को राजधानी बनाउने तयारी थालेपछि डोटीबासीले विरोध गर्दै आजदेखि अनिश्चितकालीन डोटी बन्दको आव्हान गरेका हुन् ।

डोटी उद्योग बाणिज्य संघद्धारा सात दिनदेखी जारी बिरोध कार्यक्रम अन्र्तगत मंगलबार क्षेत्रीय प्रशासन कार्यालय राजपुर घेराउ गरिएको थियो ।
बुधबार बिहान बसेको प्रदेश नंं ७ को राजधानी दिपायल संघर्ष समितिको बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो । बन्द आह्वान गरेसँगै बिहानैदेखी सिलगढी,दिपायल,पिपल्ला,बुडर लगायतका मुख्य बजारहरु बन्द भएका छन् । सरकारी कार्यालय,गैरसरकारी संस्था,शिक्षण संस्था र बजार समेत बन्दले प्रभावित भएका छन् ।

संघर्ष समितिका सदस्य दिपक बहादुर खड्काले पहाडको अधिकार खोस्ने गरी प्रदेश ७ को अस्थायी राजधानी तोक्न लागिएकाले संघर्षमा उत्रिएको बताए । उनले भौतिक पूर्वाधारदेखि भौगोलिक दूरीका हिसाबले पनि दीपायल प्रदेश राजधानीका लागि उपयुक्त भएको तर्क गर्दै माग पूरा नभएसम्म अनिश्चितकालीन डोटी बन्द गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस